क्याम्पस सभाको उद्घाटन समारोहमा सहभागी अतिथिहरु ।

हेटौँडाः हेटौँडा–१९, बस्तिपुरस्थित निर्मल बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षमा राजकुमार भेटवाल निर्वाचित हुनुभएको छ । शनिबार भएको तेस्रो क्याम्पस सभाबाट सदस्यमा सानुमाया सुनार, शान्ति प्रजा, बिष्णुलाल स्याङ्तान, राजु नेपाली, अमृत पाठक, रामप्रसाद कालाखेती, रत्न बहादुर ब्लोन लामा, बिक्रम बहादुर पण्डित, मदन कुमार लामा चयन हुनुभएको छ ।

निवर्तमान अध्यक्ष विष्णुहरि पण्डितको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य महेशकुमार बर्तौलाको प्रमुख आतिथ्यमा क्याम्पस सभाको उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको पनि आतिथ्य रहेको थियो । क्याम्पस सभाकै अवसरमा १५ कोठे भवनको उद्घाटन गरिएको छ ।

विश्वविद्यालय अनुदान आयोग, सांसद विकास कोष, बागमती प्रदेश सरकारबाट प्राप्त सहयोगमा करिब १ करोड ५० लाख लागतमा क्याम्पसको शैक्षिक भवन निर्माण गरिएको हो । वाणिज्य, शिक्षाशास्त्र र मानविकी संकायको पठनपाठन हुने निर्मल बहुमुखी क्याम्पसमा २ सय ३१ जना विद्यार्थी अध्ययनरत छन् ।