फाइल तस्वीर ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकामा वडा तहबाटै विद्यालयमा विदा दिने निर्णयको सुरुवात भएको छ । नगरपालिकास्तरमा निर्णय नहुँदा वडा वडाको निर्णयले अभिभावक, विद्यार्थीमा अन्यौलता सिर्जना भएको छ । शनिबार हेटौँडा–४, ५ र १५ ले उच्च गर्मीका कारण विद्यालयको पठनपाठन रोक्ने निर्णय गरिएको जनाएको छ ।

उच्च गर्मीका कारण विद्यालयमा विद्यार्थी बेहोस हुने अवस्था आएसँगै विद्यालय केही दिनका लागि विदा दिइनुपर्ने माग आइरहे पनि नगरले निर्णय नगरी वडालाई नै जिम्मेवारी दिने निर्णय भएको छ । शनिबार ४ नम्बर वडामा वडामा रहेका सवै विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकको उपस्थितिमा विद्यालय ३ दिन विदा दिने निर्णय भएको छ । आइतबारदेखि मंगलबारसम्म वडाका विद्यालयमा विदा गर्ने निर्णय भएको र अवस्था हेरेर त्यसपछि थप निर्णय गरिने वडा अध्यक्ष नवीन सिग्देलले जानकारी दिनुभयो ।

यता हेटौँडा–५ का विद्यालयमा पनि आइतबारदेखि ३ दिन विदा दिने निर्णय भएको वडा सदस्य ज्ञानु थापाले जानकारी दिनुभयो । यस्तै हेटौँडा–१५ मा पनि आइतबार र सोमबार दुईदिन विदा गर्ने निर्णय वडा कार्यालयमा भएको जनजागृति माविका प्रधानाध्यापक केशव सञ्जेलले जानकारी दिनुभएको छ । वडाले अहिले दिएको विदा वर्षे विदाबाट कट्टा गर्ने जनाएको छ ।