हेटौँडाः हेटौँडामा जारी खुला राष्ट्रिय भलिबल प्रतियोगितामा तीन विभागीय टिमसहित गण्डकी प्रदेशको भलिबल टिम सेमीफाइनलमा प्रवेश गरेको छ । विभागीय टिम त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल र नेपाल पुलिससँगै गण्डकी प्रदेशको भलिबल टिम सेमीफाइनलमा प्रवेश गरेको हो । घरेलु टोली मकवानपुर जिल्ला भलिबल टिम, झापाको पाथीभरा टाइगर भलिबल क्लब र स्याङ्जाको वालिङ भलिबल क्लब भने समूह चरणबाटै बाहिरिएको छ ।
समूह चरणबाट सेमीफाइनल चरणमा प्रवेश गरेका टिमले एक आपसमा खेल्न बाँकी रहेकोले सेमीफाइनल समीकरण भने पूरा हुन बाँकी छ । बिहिबार हुने समूह चरणको अन्तिम खेलले मात्रै सेमीफाइनल समीकरण पूरा हुनेछ । बुधबार दोहोरो जित निकाल्दै त्रिभुवन आर्मी क्लब सेमीफाइनल प्रवेश गरेको हो । एउटै समूहमा रहेको आर्मी र गण्डकी समूह चरणको दुबै खेल जितेर सेमीफाइनल प्रवेश गरेको हो । दुवै खेलमा पराजित घरेलु टोली मकवानपुर जिल्ला भलिबल टिम र वालिङ भलिबल क्लब समूह चरणबाटै पराजित भएको छ ।
हेटौँडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा बुधबार बिहान भएको पहिलो खेलमा त्रिभुवन आर्मीले मकवानपुर जिल्ला भलिबल संघलाई ३–० को सोझो सेटले पराजित गरेको हो । आर्मीले घरेलु टोली मकवानपुरलाई २५–१४, २५–२२ र २५–२२ को सोझो सेटमा पराजित भएको हो । म्यान अफ द म्याच आर्मीका शरण सामरी घोषित भए ।
बुधबार बिहान भएको दोस्रो खेलमा गण्डकी प्रदेशले पहिलो र दोस्रो सेट २५–१७, २५–१० ले आफ्नो पक्षमा पारेको थियो । गण्डकीले तेस्रो सेट भने २३–२५ ले गुमाएको थियो । चौथो सेट २५–१८ ले आफ्नो पक्षमा पार्दै गण्डकी प्रदेशको भलिबल टिम सेमीफाइनल प्रवेश गर्ने पहिलो टिम बनेको थियो । प्रतियोगिता अन्तर्गत बुधबार दिउँसो भएको पहिलो खेलमा झापाको पाथिभरा टाइगर भलिबल क्लब नेपाल पुलिस क्लबसँग पराजित भएको छ । नेपाल पुलिसले पाथीभरालाई २८–२६, २५–१५ र २५–१८ को सोझो सेटमा पराजित गरेको हो । म्यान अफ द म्याच पुलिसका कुल बहादुर थापा घोषित भए । बुधबार भएको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले वालिङ भलिबल क्लबलाई २५–१२, २५–२१ र २५–२२ को सोझो सेटमा पराजित गरेको हो । म्यान अफ द म्याच वालिङका रोशन मगर घोषित भए ।
बिहिबार पहिलो खेलमा मकवानपुर र वालिङबीच खेल हुनेछ भने दोस्रो खेलमा सशस्त्र प्रहरी र नेपाल पुलिस बीच भिडन्त हुनेछ । मकवानपुर र वालिङ बीचको खेल प्रतिष्ठाका लागि मात्रै सीमित हुनेछ । सशस्त्र प्रहरी र नेपाल पुलिसबीचको खेल भने समूह चरणको विजेता र उपविजेताको छिनोफानो लगाउन महत्वपूर्ण हुनेछ । बिहिबारको अन्तिम खेलमा त्रिभुवन आर्मी र गण्डकी प्रदेशको भलिबल टिमबीचको खेल पनि समूहको विजेता र उपविजेता छिनोफानो गर्न महत्वपूर्ण हुनेछ । बिहिबार हुने अन्तिम दुई खेलले सेमीफाइनल समीकरण पनि पूरा हुनेछ ।
स्व. केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर भलिबल संघको संयुक्त आयोजनामा भएको प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । हेटौँडा उपमहानगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँ र उपविजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।