हेटौँडाः तेश्रो संस्करणको हेटौँडा मेयर कप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा १८ नम्बर वडा विजयी भएको छ । हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको खेलमा १८ नम्बर वडाले ४ नम्बर वडालाई सडन डेथमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
टाइब्रेकरमा पनि ३–३ गोलको बराबरी भएपछि खेलको निर्णय सडेन डेथमा पुगेको थियो । सडेन डेथको पहिलो प्रहारमै १८ नम्बरले जित निकालेको हो । १८ नम्बर वडाले अब आइतबार क्वाटरफाइनलमा १५ नम्बर वडासँग खेल्नेछ । १५ नम्बर वडाले यसअघि ३ नम्बर वडालाई हराउँदै क्वाटरफाइनल प्रवेश गरिसकेको छ ।
प्रतियोगिता अन्तर्गत बिहिबार पहिलो खेल हेटौँडा–९ र १६ बीच खेल हुनेछ भने दोस्रो खेल हेटौँडा–७ र ११ नम्बर वडा बीच खेल हुने आयोजकले जनाएको छ । हेटौँडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेल जेठ २७ गते हुनेछ । प्रतियोगितामा हेटौँडा उपमहानगरका १९ वडाको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेता १ लाख ५० हजार, सेमीफाइनलमा पराजित हुने २ वटा टिमलाई ५०÷५० हजार रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीलाई १५ र उत्कृष्ट खेलाडीहरुलाई ५÷५ हजार रुपैयाँ नगदसहित शिल्ड एवम् मेडल पुरस्कार रहेको आयोजकले जनाएको छ ।