हरित हेटौँडाले जुन ५ मा मनाइने विश्व वातावरण दिवसलाई महत्वका साथ मनाउँदै आएको छ । हेटौँडा उपमहानगरपालिका मातहतको टोल विकास संस्था नगर समन्वय समितिले मंगलबारबाट साताव्यापी विविध कार्यक्रम सुरु गरेको छ । वातावरण संरक्षणका लागि विश्व समुदायको चासो र सरोकार रहँदै आएको छ । वातावरण दिवसकै सन्दर्भमा हेटौँडा उपमहानगरपालिकाकी वातावरण अधिकृत चन्दा खड्कासँग समृद्ध समाज दैनिकका संवाददाता सुप्रभा शर्माले गर्नुभएको कुराकानीको सम्पादित अंशः
समाजः हेटौँडा उपमहानगर क्षेत्रमा वातावरणसँग सम्बन्धित के कस्ता चुनौतीहरु रहेका छन् ?
खड्काः वास्तवमा हेर्ने हो भने हेटौँडा उपमहानगरपालिकामा मात्र नभएर नेपालभरिको सबै पालिकाको मुख्य चुनौती भनेको फोहोरमैला व्यवस्थापन हो । केही नगरपालिकाहरुले आफैँले फोहोर व्यवस्थापनका लागि प्रयत्न पनि गरिरहेका छन् भने केही नगरपालिकाहरु चाहिँ प्रविधिमैत्री पनि हुन खोजिरहेका छन् । हेटौँडा उपमहानगरपालिकाले पनि धेरै वर्ष पहिलेदेखि फोहोरमैला विसर्जन गर्दै आएको डम्पिङ साइडको जीवनकाल पनि सकिसकेको छ । हामीले तत्काल फोहोर मैला विसर्जन गर्नका लागि नयाँ डम्पिङ साइड खोज्नु नै हेटौँडा उपमहानगरपालिकाको मुख्य चुनौतीको रुपमा रहेको छ ।
समाजः फोहरमैला व्यवस्थापनका उपायहरु के–के हुन सक्छन् ?
खड्काः फोहोरमैला व्यवस्थापनमा आएका चुनौतिहरुको न्युनीकरणका लागि सर्वप्रथम हामी सबैले घरघरमै फोहोरको स्रोतबाट नै न्युनीकरण गर्न सक्नुुपर्दछ । कुहिने र नकुहिने फोहोर छुट्याई कुहिने फोहोरलाई घरमै व्यवस्थापन गर्ने र नकुहिने फोहोरलाई फोहोर उठाउन आउने गाडीलाई पठाउनुपर्छ । कम्पोष्टिङ गर्न सकिन्छ । ग्रीन एण्ड क्लिन सिटीले फोहर व्यवस्थापनका लागि कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै संकलनको कार्य गर्दै आएको छ । यसरी कुहिने र नकुहिने फोहर छुट्टाएर व्यवस्थापन गर्नु नै व्यवस्थापनको प्रमुख उपाय हुन सक्छ ।
समाजः विश्व वातावरण सप्ताहको मूल नारा के रहेको छ ?
खड्काः हेटौँडाको मूल नारा भन्दा पनि विश्व वातावरण दिवसकै नारालाई नेपालीकरण गरेर विभागले प्लास्टिक प्रदुषण न्यूनीकरण र वातावरणमैत्री विकल्प खोजौं भन्ने छ । यस पटकको मूल नारा प्लास्टिक प्रदुषण नियन्त्रण गरौं भन्ने छ । हेटौँडा उपमहानगरले आफ्नो छुट्टै नारा बनाएको छैन ।