प्रदेशस्तरीय तथ्यांक सार्वजनिक गर्ने कार्यक्रममा सहभागी मुख्यमन्त्री लगायत ।

हेटौँडाः राष्ट्रिय तथ्यांक कार्यालयले प्रदेशस्तरीय तथ्यांक सार्वजनिक गर्ने क्रममा बुधबार बिहान हेटौँडामा एक कार्यक्रमका बीच बागमती प्रदेशको प्रादेशिक नतीजा सार्वजनिक गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, प्रमुख सचिव मुकुन्दहरि निरौलाको उपस्थितिमा प्रादेशिक नतीजा सार्वजनिक गरेको हो ।

राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार बागमतीसँगै सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको प्रादेशिक तथ्यांक सार्वजनिक गरेको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो । यसअघि कार्यालयले जेठ १० गते कोशी, मधेश र गण्डकी प्रदेशको प्रादेशिक नतीजा सार्वजनिक गरिसकेको छ ।

प्रादेशिकरुपमा तथ्यांकको विश्लेषण गर्दा फरक फरक नतीजा आएको र ती तथ्यांकले प्रदेश सरकारलाई आगामी योजना बनाउन सहयोग पुग्ने उद्देश्यले फरक फरक प्रतिवेदन तयार पारी सम्बन्धित प्रदेशमै सार्वजनिक गरिएको निर्देशक लामिछानेले स्पष्ट पार्नुभयो । गाउँबाट सहर र सहरबाट विदेशमा बसाईसराईको तीव्रता चुनौतिको विषय भएको निर्देशक लामिछानेको भनाइ छ । कार्यक्रममा राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख रामप्रसाद थपलियाले जनगणनाको नतीजा र तथ्यांकलाई विश्लेषण गरेर प्रदेश सरकारले काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।