हेटौँडाः तेश्रो संस्करणको मेयर कप वडास्तरीय फुटबल प्रतियोगितामा आज मंगलबार हेटौँडा ६ र १० नम्बर वडाबीच खेल हुँदैछ । १० नम्बर वडा गत वर्षको विजेता टिम हो । खेल हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुनेछ ।
सोमबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर १५ विजयी भएको थियो । १५ नम्बर वडाले ३ नम्बर वडालाई ३–१ गोलअन्तरले पराजित गरेको हो । प्रतियोगितामा हेटौँडा उपमहानगरका १९ वडाको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद २ लाख, उपविजेता १ लाख ५० हजार, सेमीफाइनलमा पराजित हुने २ वटा टिमलाई ५०/५० हजार रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडिलाई १५ र उत्कृष्ट खेलाडीहरुलाई ५/५ हजार रुपैयाँ नगदसहित शिल्ड एवम् मेडल पुरस्कार रहेको आयोजकले जनाएको छ ।