हेटौँडाः धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–२ मा भीरबाट लडेर गर्भवती महिला र २ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने १९ वर्षीया अप्सरा चेपाङ र उनका २ वर्षीय छोरा साजन चेपाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । अप्सरा ७ महिनाकी गर्भवती समेत रहेको प्रहरीले जनाएको छ ।
सोमबार दिनको ५ बजेर ३० मिनेटको समयमा कात्तिकेचुली जङ्गलमा घाँस काट्न गएकी अप्सराको छोरा साजन भीरबाट लडेपछि उनलाई उद्दार गर्न जाँदा अप्सरा भीरबाट लडेर गम्भीर घाइते भएकी थिइन् । घाइते अप्सरालाई उपचारका लागि अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । प्रहरीका अनुसार बालकको घटनास्थलमै ज्यान गएको थियो । दुवैको शव प्राथमिक स्वास्थ्य केन्द्र गजुरी धादिङमा राखिएको प्रहरीले जनाएको छ ।