आज जेठ १५ गते, १६ औं गणतन्त्र दिवस । विविध कार्यक्रम गरेर संघीय तथा प्रदेश सरकारहरुले यो दिवस मनाइरहेका छन् । २०६५ सालमा आजकै दिन नेपाललाई गणतन्त्रात्मक मुलुक घोषणा गरेर गणतन्त्र कार्यान्वयनमा ल्याइएको थियो । संविधानसभाको पहिलो बैठकले राजतन्त्रको विधिवत अन्त्य गर्दै मुलुकमा गणतन्त्र घोषणा गरिएको थियो । यसअघि दोस्रो जनआन्दोलनको अन्त्यसँगै पुनःस्थापना भएको तत्कालीन प्रतिनिधिसभाले २०६३ जेठ ४ गते विशेष घोषणा गर्दै राजाको अधिकार कटौती गरेपछि नै मुलुक गणतन्त्रतर्फ उन्मुख भएको भए पनि गणतन्त्रको औपचारिक कार्यान्वयन भने २०६५ जेठ १५ बाट भएको हो । मुलुकमा गणतन्त्र कार्यान्वयनमा आएको डेढ दशक पूरा भए पनि गणतन्त्रको वास्तविक सुखानुभूति आम नेपालीले गर्न पाएका छैनन् । गणतन्त्रको मूल्य, मान्यता र सिद्धान्तबमोजिम स्वभाविक गतिमा मुलुक अगाडि बढ्न सकेको छैन । सर्वसाधारणले अहिलेसम्म गणतन्त्र र पहिलाका अन्य व्यवस्थाबीचको अन्तर अनुभूति गर्नै पाएका छैनन् ।
गणतन्त्र विश्वमै उत्कृष्ट मानिएको शासन व्यवस्था हो । नेपालमा २ सय ५० वर्ष पुरानो राजतन्त्रलाई फालेर गणतन्त्र ल्याएको भए पनि गणतन्त्रको वास्तविक लाभ मुलुक र जनताले प्राप्त गर्न सकेका छैनन् । गणतन्त्र आएपछि पनि सो अनुकूलको संविधान निर्माणमा करिब ८ वर्ष बित्यो । संघीय गणतान्त्रिक शासन व्यवस्थासहितको संविधान कार्यान्वयनमा आइसकेपछि मुलुकको राजनीतिमा स्थिरता आउने आशा निराशामा बदलिएको छ । अहिले पनि मुलुक राजनीतिक अस्थिरतामै गुज्रिरहेको छ । सरकारले आम नागरिकको अपेक्षाअनुसार काम गर्न नसकेको मात्रै छैन, राजनीतिक दलहरुबीच सरकारको नेतृत्व गर्न अस्वभाविक गठनबन्धन चलिरहेको छ । गणतन्त्र स्थापनापछिको डेढ दशकको अवधिमा मलुकमा १३ वटा सरकार परिवर्तन भइसकेको छ । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा गणतन्त्र कार्यान्वयनमा आएकोमा त्यसपछि पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, डा.बाबुराम भट्टराई, खिलराज रेग्मी, केपी शर्मा ओली, शेरबहादुर देउवा, सुशील कोइरालालगायत एकदेखि धेरै पटक प्रधानमन्त्री बनिसकेका छन् ।
राजनीतिक दलहरुले आफ्नो दलीय तथा व्यक्तिगत स्वार्थका लागि गणतान्त्रिक अधिकारको उपयोग गर्दा आम नागरिकले गणतन्त्रको वास्तविक सुखानुभूति गर्न सकेका छैनन् । गणतन्त्रले दिएका सुविधा तथा अवसरहरु नेता र तिनका आसेपासेले पाउँदा आम नागरिक भने आफ्नै दुःख र पीडामा बाँच्न बाध्य छन् । नागरिकलाई सार्वभौम र अधिकारसम्पन्न बनाएको भनिए पनि वास्तविकतामा त्यो देखिँदैन । यसबीचमा राजनीतिक दलहरुले मुलुकमा अस्थिरता बढाएका मात्र नभई बेथिति, अराजकता, दण्डहिनता र भ्रष्टाचारलाई मौलाउने अवसर दिइरहेका छन् । गणतन्त्रको वास्तविक अनुभूति नागरिकले गर्न नसक्नुमा गणतन्त्र प्राप्तिका लागि लडाइँ लड्ने र आन्दोलन गर्ने दल तथा शीर्ष नेतृत्वकै भूमिका कमजोर देखिएको छ ।
गणतान्त्रिक शासन व्यवस्थामा पनि आफूले सोचेजस्तो परिवर्तन नभएपछि आम नागरिकमा निराशा बढ्दै गएको छ । संघ, प्रदेश र स्थानीय सरकारबीच अधिकार कार्यान्वयनमा देखिएको अन्यौलता र अस्पष्टताले संघीयता र गणतन्त्रको मूल मर्म सार्थक बन्न सकेको छैन । गणतन्त्रको नाममा अराजकता र दण्डहिनता बढ्दै जाँदा र राजनीतिक नेतृत्व देशी, विदेशी शक्तिकेन्द्रको इशारामा परिचालित हुँदा गणतन्त्रप्रतिको विश्वास कमजोर बन्नेछ । यस्ता गतिविधिले मुलुकको विकास र समृद्धिमा मात्र नभई मुलुकको सार्वभौमिकता र अखण्डतामा आँच आउन सक्नेतर्फ राजनीतिक दल र तिनका नेतृत्व गम्भीर बन्नु आवश्यक छ । १६ औं गणतन्त्र दिवस मनाइरहँदा आम नेपालीले गणतन्त्रको वास्तविक सखानुभूति गर्न सकुन्, गणतन्त्र दिवसको सबैमा शुभकामना ।