हेटौँडाः निर्माण सामग्री व्यवसायी संघ मकवानपुरले हेटौँडा–१, लालझाडीस्थित बाराही आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि ५० हजार रुपैयाँ बराबरको शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ । शुक्रबार विद्यालयमै पुगेर संघका पदाधिकारीले स्मार्ट टिभी, शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको हो ।
वडा अध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तम तामाङ र प्रधानाध्यापक मन्जु देवकोटालाई संघका अध्यक्ष बालकृष्ण बजगाईले सहयोग सामग्री हस्तान्तरण गर्नु भएको हो । बालविकास कक्षामा पढ्ने विद्यार्थीलाई प्रविधिमैत्री शिक्षणमा सहजता पुगोस् भन्ने उद्देश्यले स्मार्ट टिभी सहयोग गरिएको संघले जनाएको छ । वडा अध्यक्ष न्यौपानेले अबको आवश्यकता आधुनिक प्रविधिमैत्री शिक्षा रहेको बताउनुहुँदै शैक्षिक सामग्री सहयोगले बालबालिकाको विकास र सिकाई प्रक्रियामा सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा निर्माण सामाग्री व्यवसायी संघका सचिव सुदिप तिमल्सीना, कोषाध्यक्ष रोशन सापकोटाको पनि उपस्थिति रहेको थियो ।