तालिममा सहभागी शिक्षकहरु ।

हेटौँडाः सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरको तीव्र बहस भइरहेको समयमा मनहरी गाउँपालिकाको पशुपतिनाथ माविमा शिशुकक्षा शिक्षण गर्ने शिक्षकलाई तालिम दिन सुरु गरिएको छ । बालबालिकाको शैक्षिक गुणस्तर सुधार गर्नका लागि जगैदेखि ध्यान दिनुपर्ने भन्दै विद्यालयले तालिम सुरु गरेको हो ।

विकासका लागि सहयोग र सहकार्य (हेल्पकोड) नेपालको आयोजनामा पशुपतिनाथ मावि, सृजना प्रावि, चेपाङ प्रावि, नवज्योति प्राविका ईसीडी शिक्षकहरुलाई ५ दिने तालिम सुरु गरिएको हो । विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यको सभाध्यक्षता र हेल्पकोड नेपालका कार्यक्रम निर्देशक भरत पाठक, कार्यक्रम संयोजक ईन्द्रप्रसाद पाण्डे, फिल्ड कर्मचारी विकास चेपाङले सहजीकरण गरिरहनुभएको छ । हेल्पकोड नेपालले मनहरी–३ र ४ का ४ वटा विद्यालयका बालबालिकालाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री सहयोग गरिरहेको छ । हेल्पकोड स्वीटजरल्याण्ड र हेल्पकोड ईटालीको सहयोगमा हेल्पकोड नेपालले काठमाडौं, चितवन र मकवानपुर जिल्लाको शैक्षिक क्षेत्रमा काम गरिरहेको छ ।