हेटौंडाः बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८०–०८१ का लागि ल्याएको प्रिबजेटमाथि छलफल भइरहेको छ । मंगलबार प्रस्तुत भएको प्रिबजेटमाथि बुधबारबाट छलफल सुरु भएको हो ।
बैठकको दोस्रो दिन बिहीबार विभिन्न प्रदेशसभा सदस्यहरुले बजेटमा समावेश गराउनुपर्ने माग राखेका छन् । बैठकमा सदस्यहरुले कृषिलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका हुन् ।
बैठकमा प्रदेशसभा सदस्य राजु विष्टले प्रदेश सरकारले बजेट निर्माण गर्दा प्रहदेशको १३ वटै जिल्लामा उद्योग कलकारखानाको स्थापन गरी युवालाई स्वोरोजगार बनाउन लाग्नुपर्ने माग राख्नुभएको छ । किसानले आफूले उत्पादन गरेको वस्तुको मूल्य नपाएको अवस्थामा बाहिरबाट आयात घटाउनुपर्ने बताउँदै कृषि क्षेत्रमा बाँदर, बँदेलजस्ता जंगली जनावरबाट हुने क्षति न्यूनीकरणमा सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
बैठकमा प्रदेशसभा सदस्य भावना श्रेष्ठले प्रदेश सरकारले स्थानीय, सामुदायिक र निजी क्षेत्रको अर्थ नीति एकीकृत गरी वित्तीय अवस्थालाई अनुशासनमा राख्नुपर्नेमा जोड दिनुभयो । बैठकमा एक सदस्यले नेपालको मदिरालाई विस्थापित नगरी ब्राण्डिङ गरेर करको दायरामा ल्याउन आवश्यक रहेको बताउनुभएको थियो ।
यस्तै, बैठकमा प्रदेशसभा सदस्य शैलेन्द्रराज बज्राचार्यले योजना निर्माण गर्दा आफ्नो कार्यकाल मात्र नभई १० औं वर्षसम्म कार्यान्वयन हुने बजेट ल्याउन आवश्यक रहेकोमा जोड दिनुभयो । ‘नेपाली रक्सीले रोग निम्त्याएको छैन, चिनीले रोग निम्याउँछ, बरु चिनी उत्पादन बन्द गर्नु पर्छ, रक्सी बन्द गर्नुहँदैन’, उहाँले भन्नुभयो । बैठकमा प्रदेशसभा सदस्य श्री सापकोटाले बाँझो जग्गालाई कृषिमा जोड्न आवश्यक रहेको बताउँदै प्रमाणपत्र तह, स्नातक तहपछि विद्यार्थीलाई २ वर्ष कृषि क्षेत्रमा काम गर्नुपर्ने नीति ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले जंगली जनावरको आक्रमणबाट मानिसको मृत्यु हुने गरेकोमा संरक्षणको नीति निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।
प्रदेशसभा सदस्य डम्बर तामाङले प्रदेश सरकार केन्द्रको आधारमा चलेकाले बजेट विनियोजनमा प्रदेश सरकारले केन्द्रीय आदेशभन्दा पनि स्थानीय आवश्यकताको आधारमा बजेट विनियोजन हुनुपर्नेमा जोड दिनुभयो । अर्को सदस्य सन्चा ढकालले बागमती प्रदेश सरकारको बजेटमा महिलामुखी रोजगारीको सिर्जना गर्न आवश्यक रहेको बताउनुभयो । कृषकले मूल्य नपाएको अवस्थामा कृषकलाई बिचौलियाबाट टाढा राख्न आवश्यक रहेको बताउँदै मजदुरलाई राहतको कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । सरकारले लोप हुन लागेको माटाको भाँडो बनाउने, बाजा बजाउने पेसालाई निरन्तरता दिँदै युवा पुस्तालाई रोजगारीमा जोड्न आवश्यक रहेको सभा सदस्य धनेश्वरी प्रजापतिले बताउनुभयो ।