रग्बी खेल सामग्री हस्तान्तरण गर्नुहुँदै नगर प्रमुख मीना कुमारी लामा ।

हेटौँडाः बागमती प्रदेश खेलकुद प्रतियोगितामा सहभागी हुने मकवानपुर जिल्लाको रग्बी टिमलाई हेटौँडा उपमहानगरपालिकाले खेल सामग्री हस्तान्तरण गरेको छ । बुधबार नगर प्रमुख मीना कुमारी लामाले खेल सामग्री हस्तान्तरण गर्नुभएको हो ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्गीको उपस्थितिमा नगर प्रमुख लामाले मकवानपुर रग्बी टिमका कप्तान विक्रम भारतीलाई २४ सेट जर्सी, बुट, जुराफ, निगार्ड र ५ थान रग्बी बल हस्तान्तरण गर्नुभयो । उपमहानगरले एक लाख रुपैयाँ बराबरको सहयोग प्रदान गरेको हो । मकवानपुर जिल्लाले दोस्रो प्रदेश खेलकुदमा रग्बीतर्फ महिला र पुरुष दुवै टिममा सहभागिता जनाउँदैछ । रग्बी खेल आज शुक्रबार हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुँदैछ ।

रग्बीमा पुरुषतर्फ मकवानपुरसहित भक्तपुर, ललितपुर, काठमाडौं, रामेछाप, नुवाकोट, चितवन र काभ्रे जिल्ला सहभागी हुँदैछ । यस्तै महिलातर्फ मकवानपुरसहित काठमाडौं, ललितपुर, नुवाकोट र चितवन जिल्ला सहभागी हुँदैछ । ७ जनाको टिममा सहभागी हुने रग्बी १४ मिनेट खेलाइन्छ । रग्बी खेलमा मकवानपुर जिल्ला यसअघि बागमती प्रदेश च्याम्पियन हो भने पुरुषतर्फ यु–२० मा राष्ट्रिय प्रतियोगितामा उपविजेता बनेको थियो । प्रशिक्षकको भूमिकामा समेत क्रियाशील मकवानपुरका कप्तान बिक्रम भारती महिला र पुरुष दुवैतर्फ मकवानपुरको सशक्त प्रदर्शन रहने बताउनुहुन्छ ।