हेटौंडाः हेटौंडामा जारी हेटौंडा महिला खेल महोत्सव सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग र नगर खेलकुद विकास समितिको व्यवस्थापनमा बिहीबारदेखि शनिबारसम्म प्रतियोगिता भएको थियो । प्रतियोगितामा ७ खेल सञ्चालन भएको थियो ।
प्रतियोगिता हेटौंडा–४ स्थित हुप्रचौरमा भएको हो । प्रतियोगिताको अन्तिम दिन सम्पूर्ण बिजेता महिला खेलाडीलाई पुरस्कार वितरणगरी हेटौंडा बजार परिक्रमा गराइएको हो ।
प्रतियोगिताको पहिलो दिन बिहीबार खेलमा महिला रन प्रतियोगिता भएको थियो । महिला रन प्रतियोगितामा सरिता हुमागाईं प्रथम, अमृता मुक्तान दोस्रो, लक्ष्मी थिङ तेस्रो र पूजा लामा, अञ्जुमाया गोले सान्त्वना हुनुएको थियो । दौड प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
दोस्रो खेल महिला स्लो स्कुटी प्रतियोगिता भएको थियो । प्रतियोगितामा सुरक्षा राजथला प्रथम, शिला श्रेष्ठ द्वितीय, संगीता गौतम र इन्दिरा बानियाँ तृतीय हुनुभएको थियो । प्रथम हुने १० हजार, द्वितीय हुनेले ७ हजार ५ सय र तृतीय हुने दुई जनाले ५–५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
तेस्रो खेल महिला म्युजिकल चियरमा संगीता गोले प्रथम, ज्योति लामा दोस्रो, रजनी श्रेष्ठ तेस्रो र लक्ष्मी गौतम, रोजी थापा सान्त्वना हुनुभएको थियो । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः १० हजार, ८ हजार, ६ हजार र ४ हजार रुपैया“ प्राप्त गरेका छन् । चौथो खेल डोरी तानातान प्रतियोगितामा १३ नम्बर वडा प्रथम भएको छ । प्रतियोगितामा १४ वटा समूह सहभागी रहेकोमा मार्सल आर्ट ग्रुप दोस्रो भएको हो । प्रतियोगितामा प्रथम भएको १३ नम्बर वडा समूहले २५ हजार रुपैयाँ प्राप्त गरेको छ भने द्वितीय आर्ट ग्रुप समूहले १५ हजार रुपैयाँ प्राप्त गरेको हो ।
प्रतियोगिताको दोस्रो दिन पहिलो खेल फुटसल प्रतियोगितामा भएको थियो । प्रतियोगितामा पुरानो फुटबल खेलाडी समूह विजयी भएको थियो । हेटौंडा फुटबल एकेडेमी समूहलाई २–१ गोलअन्तरले पराजित गर्दै पुरानो फुटबल खेलाडी समूहले जीत निकालेको थियो । विजयी भएको पुरानो फुटबल खेलाडी समूहले १५ हजार प्राप्त गर्दा उपविजेता बनेका हेटौंडा फुटबल एकेडेमी समूहले १० हजार रुपैयाँ प्राप्त गरेको हो ।
दोस्रो खेलमा भलिबल प्रतियोगिता भएको हो । भलिबलमा प्रतियोगितामा प्रदेश खेलकुदमा छनोट भएको हेटौंडा उपमहानगर बाहिरको समूहलाई हराउँदै नगरपालिकाभित्रको समूह विजयी भएको छ । प्रतियोगितामा २–१ को सोझो सेटमा नगरपालिकाभित्रको समूहले प्रदेश खेलकुदमा छनोट भएको हेटौंडा उपमहानगर बाहिरको समूहलाई पराजित गरेको हो । प्रतियोगितामा विजेता बनेको नगरपालिकाभित्रको समूहले २५ हजार प्राप्त गर्दा उपविजेता बनेको प्रदेश खेलकुदमा छनोट भएको समूहले १५ हजार रुपैयाँ प्राप्त गरेको हो ।
प्रतियोगिताको अन्तिदिन महिला ‘७’ ए साइड फुटबल प्रतियोगिता भएको थियो । खेलमा हेटौंडा फुटबल एकेडेमी निलो समूह विजयी भएको छ । योङ लेडी फुटबल समूहलाई टाइब्रेकरमा २–१ ले पराजित गरेको हो । निर्धारित समयमा गोलरहित बराबरीपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । प्रतियोगितामा विजेता बनेको फुटबल एकेडेमी निलो समूहले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ, भने उपविजेता योङ लेडी फुटबल समूहले नगद १५ हजार रुपैयाँ प्राप्त गरेको छ ।