हेटौंडाः दोस्रो संस्करणको बागमती प्रदेश खेलकुद प्रतियोगिता आज आइतबारबाट सुरु हुँदैछ । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सुरु हुने प्रतियोगिता आइतबार साँझ बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले उद्घाटन गर्नुहुनेछ ।
आइतबार कुनै खेल सञ्चालन नहुने जनाइएको छ । उद्घाटनका दिन साँझ राष्ट्रिय कलाकार, झाँकी र आर्मी–प्रहरीको प्रस्तुति रहने जनाइएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा सुरु हुने प्रतियोगिता १३ खेलमा २ सय १९ स्वर्णका लागि प्रतिस्पर्धा हुने जनाइएको छ ।
प्रतियोगितामा प्रदेशका १३ जिल्लाबाट २ हजार ५ सय २ जना खेलाडीहरुको सहभागिता रहनेछ । १३ खेलमध्ये मकवानपुरमा ९ खेल, चितवन र ललितपुरमा एक–एक र २ खेल काठमाडौंमा खेलाइने जनाइएको छ । प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीले क्रमशः ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता शनिबार सम्पन्न हुने जनाइएको छ ।