पुजा मंग्रान्ती र मञ्जु भुर्तेल महिला जनप्रतिनिधि, हेटौंडा उपमहानगरपालिका

स्थानीय तहमा जनप्रतिनिधिको रुपमा महिलाको उपस्थिति रहरलाग्दो छ । आरक्षणका कारण महिलाहरु आफूलाई जे–जस्तो अवस्थामा छ सोही अवस्थामा पदीय जिम्मेवारीमा स्थापित गर्न सफल भए । हेटौँडा उपमहानगरमा त नगरप्रमुख नै महिला हुनुले अझ बढी प्रभावकारी भूमिकाको अपेक्षा गरिन्छ । महिला जनप्रतिनिधिको पृष्ठभूमि, वर्तमान अवस्था र आगामी कार्यदिशाका विषयमा समृद्ध समाज दैनिकका लागि संगी लामाले हेटौंडा–१८ की वडा सदस्य पुजा मंग्रान्ती र ८ नम्बर वडा सदस्य मञ्जु भुर्तेलसँग गरिएको कुराकानीको सम्पादित अंश ।

जनप्रतिनिधिको रुपमा पहिलो कार्यकाल कस्तो रहयो ?

पुजाः पहिलो कार्यकालका लागि वडा सदस्यमा निर्वाचित हुँदा के गर्ने, कसो गर्ने भन्ने कुराहरु केही पनि थाहा नभएकाले डर लाग्ने गथ्र्याे । फेरि पनि जनताले अर्काे कार्यकालका लागि निर्वाचित गरेर वडासम्म ल्याइदिनुभएको छ । अहिले चाँहि पहिलाको भन्दा काम गर्न सहज भएको छ ।

पहिलाको १८ नम्बर वडामा र अहिलेको वडामा के फरक पाउनुभएको छ ?

पुजाः पहिला १८ नम्बरमा थोरै मात्र विकास भएको थियो भने अहिले पर्याप्त विकास निर्माणको कामहरु सम्पन्न भइसकेको छ ।

पहिलो कार्यकालदेखि दोस्रो कार्यकालसम्म आउँदा १८ नम्बर वडाका महिलाहरुमा आएको
परिवर्तन के देख्नुभएको छ ?

पुजाः पहिलो कार्यकालको समयमा १८ नम्बर वडाका महिलाहरुको आर्थिक अवस्था निकै कमजोर थियो । उहाँहरु घरको काममा सीमित हुनुहुन्थ्यो, वडासम्म कागजपत्रको काम लिएर आउन डराउनुहुन्थ्यो । पहिलो कार्यकालमा हामीले महिला दिदीबहिनीहरुलाई भेला गरेर कृषक समुह बनाई अध्यक्ष, सचिब, कोषाध्यक्ष र सदस्यको रुपमा उहाँहरुलाई वडासम्म ल्याउने काम ग¥यौँ । अहिले उहाँहरुले यस्तो कुरामा अरु कसैलाई सल्लाह नलिई पनि वडासम्म गएर बजेट माग गर्न सक्ने हुनुभएको छ ।

तपाई राजनीतिमा लागिरहँदा परिवारको सहयोग कसरी पाउनुभएको छ ?

मञ्जुः मलाई राजनीतिमा लागिरहँदा घरपरिवार र छरछिमेकका दिदीबहिनीहरुको एकदम सपोर्ट पाएकी छु । त्यतिमात्र नभई ८ नम्बर वडाको सम्पूर्ण वडाबासीहरुको विश्वास, साथ र सहयोगले गर्दा नै म अहिले यहाँसम्म आउन सफल भएकी छु ।

एउटा महिलालाई राजनीतिमा लागेर काम गर्न कत्तिको सहज छ ?

मञ्जुः जुनसुकै कामलाई पनि अप्ठ्यारो मान्यो भने अप्ठ्यारो नै हुन्छ, सजिलो मान्यो भने सजिलै हुन्छ । हामी महिलाले चाँहि राजनीतिमा लागिसकेपछि अरु बेलाभन्दा पनि बिहान चाँडै उठेर काम धन्दा सकाएर आफ्नो काममा लागियो भने सहज नै हुन्छ ।

वडामा कार्यविभाजन गर्दा महिला र पुरुषमा विभेद भएको जस्तो लागेको छ कि छैन ?

मञ्जुः कार्यविभाजनमा विभेद भएको जस्तो मलाई लाग्दैन । किनकी वडामा कार्यरत सबैले आ–आफ्नो रुचि र चाहना अनुसार नै कार्य जिम्मेवार पाएकी छु । विकास निर्माणको कार्यहरुमा पनि महिला सदस्यहरुलाई पनि जिम्मेवारी दिइएको छ ।

वडाका आगामी योजना के–के छन् ?

पुजाः महिलाहरुलाई अझै जागरुक बनाउने हाम्रो सबैभन्दा ठुलो योजना रहेको छ । उहाँहरुलाई सीपमुलक तालिम, नेतृत्व विकास तालिमहरु प्रदान गर्ने, पशुपालन र खेतीपातीका लागि प्रोत्साहन गर्नका लागि अनुदान प्रदान गर्ने हाम्रो योजना रहेको छ । बालमैत्री पालिकाका लागि हामीले विद्यालयबाट १०० मिटरभित्र लागुपदार्थ, मादकपदार्थ र सुर्तीजन्य पदार्थ खरिद–बिक्रीमा रोक लगाउने र गरीब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्ने लगायत थुप्रै योजनाहरु रहेका छन् ।

विद्यार्थीबाहेक महिलाहरुलाई शिक्षित बनाउन के कस्तो प्रयासहरु भइरहेको छ ?

पुजाः हामीले पहिला पनि अशिक्षित महिलाहरुलाई लक्षित गरी प्रौढ शिक्षा ल्याएका थियौँ । प्रौढ शिक्षा पढ्नका लागि धेरैजसो महिला दिदीबहिनीहरु पारिवारिक समस्या र घरको कामले गर्दा आउनुभएन । हामीले फेरि महिलाहरुलाई नेतृत्व विकास तालिम प्रदान गर्ने योजनामा छाँै ।

८ नम्बर वडाबासीहरु धेरैजसो कस्तो समस्या लिएर वडामा आउनुभएको पाउनुभयो ?

मञ्जुः विशेषगरी लालपुर्जा नभएको जग्गामा घर बनाई बस्दै आउनुभएकाहरुले धेरैजसो जग्गासम्बन्धी समस्या लिएर आउनुभएको छ । महिला र पुरुष सबैले आ–आफ्नै खाले समस्या लिएर आउनुहुन्छ । आमासमुहले पनि आफ्नै समस्या लिएर गुनासो गर्नुहुन्छ ।