पालिकाबीच समन्वय बैठकमा सिविन बालहेल्पलाईनका प्रबन्धक झविन्द्र ज्ञावली आफ्नो प्रस्तुती राख्नुहँदै ।

हेटौँडाः मकवानपुर जिल्लाको मनहरी, कैलाश र राक्सिराङ् गाउँपालिकाबीच बालश्रम न्युनीकरणलगायत बालबालिकाको सवालमा तीन वटा गाउँपालिकाका जनप्रतिनिधी, बालअधिकार समितिका पदाधिकारी, विभिन्न शाखाका प्रमुख, बालसमूहका सदस्यबीच समन्वय बैठक भएको छ । बुधबार भएको कार्यक्रममा बालबालिकासम्बन्धी ऐन २०७५ मा भएका प्रावधान, बालअधिकार समितिको गठन प्रक्रिया, क्रियाशीलता, बाल कल्याण अधिकारीको नियुक्ति, बालश्रम, बालविवाह, बालबालिकाको ओसारपसार, लागुपदार्थ दूव्र्यसन एवम् ओसारपसार, बालसमुह गठन तथा क्रियाशीलता र प्रशिक्षण लगायतका विषयमा बालहेल्पलाइन १०९८ का प्रबन्धक झबिन्द्र ज्ञवालीले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा कैलाश, राक्सिराङ र मनहरी गाउँपालिकाका बालबालिका एक अर्का गाउँपालिकामा बालश्रम गर्ने, बालविवाह गर्ने तथा अन्य समस्याहरु अन्तरसम्बन्धित भई आउने घटनाको विवरणहरु बालहेल्पलाइनबाट प्रस्तुत गरिएको जनाइएको छ । बालहेल्पलाइन १०९८ को रेकर्ड अनुसार मनहरी गाउँपालिकामा बालविवाह, बालश्रम लगायतका घटनाहरु सन् २०२२ मा बालक. २९ जना र बालिका २१ जना गरी जम्मा ५० जना, कैलाश गाउँपालिकामा बालक ७ जना र बालिका १० जना गरी जम्मा १७ जना, राक्सिराङ् गाउँपालिकामा बालक ३ जना र बालिका १ जना गरी ४ जना रहेका छन् ।

बालहेल्पलाइनले सन् २०२३ मा मनहरीमा बालक ९ जना र बालिका ७ जना गरी जम्मा १६ जना, कैलाश गाउँपालिकामा बालक ३ जना र बालिका २ जना गरी ५ जना, राक्सिराङ् गाउँपालिकामा बालक ३ जना र बालिका २ जना गरी ५ जना बालविवाहमा परेका छन् । मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरले बालिकाहरुको समस्या समाधान गर्न पालिकाहरु बीच समन्वय सहकार्य गर्नुपर्ने र आगामी दिनमा गाउँपालिकाले कार्यक्रम, नीति तथा बजेटका लागि सुझाव दिन अनुरोध गर्दै आगामी दिनमा यस्ता समन्वयतात्मक बैठकको आयोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । राक्सिराङ् गाउँपालिका–८ का अध्यक्ष एवम् सामाजिक विकास समितिका संयोजक यसु प्रजाले राक्सिराङ् गाउँपालिकामा बालश्रम, बालविवाह लगायतका समस्याहरु रहेको र गाउँपालिकामा यस विषयमा व्यापक छलफल गरी समधानतर्फ जान गाउँपालिका प्रतिवद्ध रहेको बताउनुभयो । त्यसैगरी कैलाश गाउँपालिका बालमैत्री सम्पर्क व्यक्ति हस्त नेगीले कैलाश गाउँपालिका बालमैत्री अभियानमा अगाडि बढेको तर बालविवाहको समस्या सबैभन्दा बढि चुनौतिपूर्ण रहेको बताउनुभयो । सिविन नेपालको आयोजना तथा मनहरी गाउँपालिकाको समन्वयमा भएको मनहरी गाउँपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख शिला अधिकारीले बताउनुभयो ।