हेटौंडाः मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज थिङ लागुऔषध गाजाँसहित पक्राउ परेका छन् । सोमबार बिहान ८ बजेको समयमा लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौंबाट खटिएको प्रहरी टोली र इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी नायव निरीक्षक उमेश प्रसाद कोईरीको कमाण्डमा खटिएको संयुक्त टोलीले वडाध्यक्ष थिङसहित ३ जनालाई लागुऔषध गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।
सोमबार बिहान थाहा–७, आग्राका ७६ वर्षीय भीम बहादुर थिङ, वडाध्यक्ष शिवराज थिङ र सोही ठाउँका ६७ वर्षीय ईन्द्र बहादुर थिङको घरमा लागुऔषध गाँजा विक्री वितरण गर्ने उद्देश्यले लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले सुरक्षाजाँच गर्दा २ सय २ ग्राम लागुऔषध गाँजा बरामद भएको प्रवक्ता कार्कीले बताउनुभयो । वडाध्यक्ष थिङ र भीम बहादुरको घरबाट ३० वटा पोकाहरुमा २७ किलोग्राम गाँजाको धुलो फेला परेको र ईन्द्र बहादुरको घरबाट १ सय ७५ किलो गाँजा फेला पारी प्रहरीले बरामद गरेको हो । लागुऔषध गाजाँसहित पक्राउ परेका ३ जनालाई ईलाका प्रहरी कार्यालय पालुङमा ल्याएर राखिएको र थप अनुसन्धान भइरहेको जनाएको छ ।