अभिभावक भेलालाई सम्बोधन गर्नुहुँदै मन्त्री कुमारी मोक्तान ।

हेटौंडाः हेटौंडा–११, नवलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयको ६२ औं अभिभावक भेला भएको छ । शनिबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक उप्रेतीको अध्यक्षता तथा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा अभिभावक भेला भएको हो ।

अभिभावक भेलालाई सम्बोधन गर्नुहुँदै प्रेदश मन्त्री मोक्तानले विद्यालयको भौतिक विकास राम्रो भए पनि शैक्षिक विकास र बालबालिकाको सिकाई उपलब्धीमा सुधार हुन नसकेको भन्दै चासो व्यक्त गर्नुभयो । प्रदेश सरकारले शैक्षिक सुधारका लागि विभिन्न किसिमका अनुदानका कार्यक्रम सञ्चालन गरेर विद्यालय सुधारका लागि सहयोग गरे पनि विद्यालयको शैक्षिक सुधार भने सन्तोषजनक नभएको मन्त्री मोक्तानले उल्लेख गर्नुभयो । शैक्षिक क्षेत्र सध्रन सकेन भने समाज के होला भन्ने चिन्ता रहेको उल्लेख गर्नुहुँदै मन्त्री मोक्तानले भन्नुभयो, “समाजमा भोलि बन्ने डाक्टर, इन्जिनियर, शिक्षक, व्यवसायी, कर्मचारी सबै आजका विद्यालयका विद्यार्थी नै हुन् । तर, विद्यार्थीको शैक्षिक अवस्था कमजोर हुँदा कसरी समाजका लागि आवश्यक योग्य जनशक्ति उत्पादन हुन सक्ला ?”

अभिभावक भेलाकै अवसरमा शैक्षिक सत्र २०७९ मा कक्षागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गरिएको छ । सात सय भन्दा बढी विद्यार्थी अध्ययनरत विद्यालयमा कक्षा १२ सम्म पठन–पाठन हुन्छ । यस्तै विद्यालयले खाद्य तथा प्रविधि विषय पठनपाठन गराउँछ । अभिभावक भेलाको अवसरमा विद्यालयले हालै खरिद गरेको बसको पनि मन्त्री मोक्तानले उद्घाटन गर्नुभएको छ । अभिभावक भेलामा जिल्ला शिक्षा समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, बागमती प्रदेशको शिक्षा निर्देशनालयका निर्देशक पूर्ण बहादुर दर्जी, वडा अध्यक्ष जुना दाहालको पनि उपस्थिति रहेको थियो ।

अभिभावक भेलालाई सम्बोधन गर्नुहुँदै प्रधानाध्यापक नारायणप्रसाद भण्डारीले पठन संस्कृतिको विकास गर्न कक्षाकोठामा बुक कर्नर निर्माण गरिने बताउनुभयो । यस्तै विद्यालयले शिक्षक पुनर्ताजगी तालिम, गोष्ठी, भ्रमण तथा सिकाई सामग्री सहयोग लगायतका कार्यक्रम सञ्चालन गरिने पनि स्पष्ट पार्नुभएको छ । अभिभावक भेलामा सहभागी अभिभावकले विद्यालयको शैक्षिक अवस्था कमजोर बन्दै गएको गुनासो गरे ।