विमला ज्ञवाली ।

शिक्षाविद् क्रोन व्याकले अनुभवको परिणामबाट व्यवहारमा आउने परिवर्तनले सिकारूको सिकाइलाई देखाउँछ भन्दै सैद्धान्तिक भन्दा पनि व्यावहारिक सिकाइलाई महत्व दिएका छन् । विभिन्न अनुभव, तालिम वा अभ्यासद्वारा सिकारुको व्यवहारमा देखिने अपेक्षित स्थायी परिवर्तन नै सिकाइ हो । आदिमकालदेखि नै औपचारिक, अनौपचारिक र अतिरिक्त शिक्षाको माध्यमबाट सिकाइलाई प्रभावकारी बनाउँदै व्यक्तिमा अन्तरनिहित क्षमतालाई प्रस्फुटन गराई नैतिकवान, चरित्रवान, अनुशासित र कर्मशील बनाउन उत्प्रेरित गरिएको पाइन्छ भने आधुनिक समाजमा पनि नवीनतम् सोचलाई समेत दृष्टिगत गर्दै जान्नका लागि सिकाइ, गर्नका लागि सिकाइ, केही बन्नका लागि सिकाइ र सँगै बाँच्नका लागि सिकाइ भनी सिकाइका चार स्तम्भहरूलाई आत्मसात गरेको पाइन्छ ।

जान्नका लागि गरिने सिकाइले व्यक्तिको स्मरण शक्ति, तार्किक क्षमता, कल्पना तथा निर्णय क्षमताको विकास गर्दै बौद्धिक क्षमताको विकास गर्दछ भने व्यक्तिको सामाजिक व्यवहार निर्माण गर्न, दायित्व वहन गर्न, समस्या समाधान गर्न र नयाँ परिस्थितिमा समायोजन हुन, गर्नका लागि सिकाइले मुख्य रूपमा भूमिका खेलेको हुन्छ । सिकाइले नै व्यक्तिको सिर्जनात्मक सोचाइको विकास गर्दै सही, गलत, खराब, असल, अँध्यारो वा उज्यालो छुट्याई पारिवारिक तथा सामाजिक सद्भाव तथा सहअस्तित्वलाई आत्मसात गर्दै सर्वाङ्गीण विकासमा सघाउ पु¥याउने भएकाले यसलाई सरल, सहज, व्यावहारिक र वस्तुगत बनाउनु पर्दछ ।

वास्तविक सिकाइले जीवनका लागि अत्यावश्यक ज्ञान प्रदान गर्दछ जसले व्यक्तिको बौद्धिक क्षमताको विकास गर्छ । व्यवहारिक सीपमा निपूर्ण बनाउँछ । अनि वातावरणीय पक्षका विविध आयामहरूको बुझाइको विकास गर्छ । तर बिडम्बना, हामी आज पनि पुस्तकको झोलाको भारी र शैक्षिक प्रमाणपत्रको अंकका आधारमा आफ्ना बालबालिकाको शैक्षिक गुणस्तर मापन गरिरहेका छौं । घोकेर बढी भन्दा बढी अंक ल्याउनै पर्ने दबाबमूलक सिकाइलाई आत्मसात गरिरहेका छौं यद्यपि शैक्षिक प्रमाणपत्रमा मनग्ये प्राप्तांक ल्याएका कैयौं विद्यार्थीहरूमा व्यावहारिक ज्ञान भने शून्यप्रायः रहेको पाइन्छ । दिनको करिब १०–१२ घण्टासम्म शैक्षिक संस्थाको घेराभित्र राखी हामी त्यस्ता जनशक्ति उत्पादन गरिरहेका छौं जसलाई किताबी पाना भन्दा बाहिरको दुनियाँ थाहा छैन, न त तिनको मतलव नै छ ।

एक्काको घोडा बनेर किताबी पाना घोकेर प्रमाणपत्रमा अंकको भारी बोक्नुबाहेक हाम्रो कुनै लक्ष्य छैन । सीर्जनशील व्यक्तित्व अंकुुरण नहुँदै निमोठिन्छन् । जसले जीवनभर शैक्षिक संस्थाको चौघेराभन्दा बाहिरको दुनियाँ देखेको छैन, उसले कसरी भनोस् धान कसरी फल्छ ? फुटबल कसरी खेलिन्छ ? संगीत के हो ? चित्र कसरी बनाउने ? अनि संस्कार के हो ? संस्कृति कसरी निर्माण हुन्छ ? घरमा मान्यजन आउँदा कसरी आदर गर्नुपर्दछ, वन–जंगल, नदी, चराचुरुंगी प्रकृतिका सुन्दर उपहार हुन् । वातावरणसँग हाम्रो कस्तो सम्बन्ध छ । माटोको उर्वराशक्ति के हो ? कलात्मकचित्र कसरी कुद्ने ? आदि–आदि अनेकौं तथ्यहरू । किनकि यी सबै कुराहरू व्यवहारिक सीपबाट मात्र सिकिन्छ न कि किताबको पाना घोकेर । पुस्तकको झोलाको भारीको नतिजा त उत्कृष्ट प्रमाणपत्र तर व्यवहारशून्य जनशक्तिको निर्माण मात्र हुन्छ ।

सिकाइले जीवनका लागि अत्यावश्यक ज्ञान प्रदान गर्दछ, बौद्धिक क्षमताको विकास गर्छ । व्यवहारिक सिकाइले सिकारुको शिल्पलाई निखार दिँदै जीवनयात्रालाई सरल र सहज बनाउने भएपनि हाम्रो शिक्षण पद्दति धेरै किताब बोक्नुपर्ने, घोक्नुपर्ने र अंक बढी भन्दा बढी ल्याउनुपर्ने दबाबमूलक प्रकृतिको छ । यसरी बालबालिकालाई दबाबमूलक शिक्षा जबरर्जस्ती दिन खोजेको खण्डमा बाल मनोविज्ञानमा ठूलो धक्का पुग्ने देखिन्छ । पुस्तकको भारी बिना पनि स्तरीय सिकाइ गर्न सकिन्छ भन्नका लागि आइन्स्टाइन, अल्बा जस्ता कैयौं उदाहरणहरू छन् । सबै बालबालिकाहरू समान प्रकृतिको नहुने हुनाले उनीहरूको क्षमता, रुचि र विषयवस्तुलाई प्राथमिकतामा राखेर सिकाइ गराउनु पर्दछ ।

“अयोग्यः पुरुषो नास्ति योजकस्तत्र दुर्लभः” अर्थात् कुनै पनि व्यक्ति अयोग्य हुँदैन तर उसमा भएको योग्यतालाई बुझेर तदनुकूल स्थानमा जोड्ने व्यक्ति भने दुर्लभ हुन्छ भनेर नीतिमा भनिएको कुरालाई बुझेर नै सायद अल्बर्ट आइन्स्टाइनले बाल मनोविज्ञानलाई प्रश्रय दिँदै भनेका छन् “पढ्न जानेन भने लेख्न सिकाऊ, लेख्न जानेन भने खेल्न सिकाऊ, खेल्न जानेन भने बोल्न सिकाऊ, बोल्न जानेन भने गाउन वा नाच्न सिकाऊ, त्यो पनि जानेन वा चासो दिएन भने चित्र कोर्न, भान्सामा सघाउन, खेल खेल्न वा अन्य के काम गर्न चाहन्छ त्यही सिकाऊ जसले गर्दा उसको रुचिको सिकाइले व्यावहारिकता प्रदान गरोस् ।”

हाम्रो विद्यालयीय शिक्षा व्यावहारिक भन्दा पनि बढी परीक्षामुखी भएकोले सिकाइ क्षणिक हुने गरेको छ । जसले गर्दा बालबालिकामा विद्यालयको घेराबाट बाहिर वास्तविक जीवनमा आइपर्ने विविध समस्याको समाधानमूलक सीपको कमी रहेको पाइन्छ । सैद्धान्तिक ज्ञानमा निपूर्ण भएपनि व्यावहारिक ज्ञानमा शून्यप्रायः अवस्थाले जीवनजिउने कला कठिन बनेको पाइन्छ । परीक्षामा उत्कृष्ट अंक ल्याएका कैयौं बालबालिकाहरू श्रमको मूल्यन जानेर जीवनयापनका आधारभूत तथ्यहरूबाट विमुख हुँदै गइरहेका छन् । करेसाबारी, फूलबारी वा घरायसी कामहरूमा बालबालिकालाई सहज ढंगले सिकाइको अवसर प्रदान गर्नु हाम्रो कर्तव्य पनि हो ।

बालबालिकाको व्यक्तित्व निर्माण गर्ने मुख्य थलो घरपरिवार र विद्यालय नै हो तर आजभोलि कतिपय सन्दर्भमा बालिबालिकाले घरमा भन्दा विद्यालयमा बढी समय बिताउने हुनाले तुलनात्मक रूपमा विद्यालयको भूमिका बढी नै हुन्छ । तर रटाएर अंक ल्याउने होडबाजीले हामीले बाल मस्तिष्कलाई एउटा मेशिनको रूपमा प्रयोग गरिरहेका छौं । आफ्नो व्यस्त दैनिकीलाई सहज बनाउन अत्यन्त कम उमेरका बालबालिकालाई विद्यालय पठाउने, सकेसम्म आफ्नो पारिवारिक जिम्मेवारी पनि विद्यालयलाई नै सुम्पने र घरमा सँगै रहँदा पनि बालबालिकासँग भन्दा सामाजिक सञ्जालको सानिध्य रुचाउने अभिभावक र बालबालिकालाई मेशिनको रूपमा प्रयोग गर्ने शैक्षिक संस्थाको प्रत्यक्ष मारमा कलिला बालमस्तिष्कहरू परिरहेका छन् ।

एकातर्फ आफ्नो भन्दा बढी तौल भएका झोलाको पुस्तकको भारी छ भने अर्कोतिर विद्यालय र अभिभावकको इज्जतका लागि विद्यालय पुगेकै दिनबाट कसरी अंक बढाउने भन्ने तनावमा कैयौं बालबालिका डिप्रेशनको सिकार भएका छन्, कैयौं सिर्जनशील मस्तिष्कमा तुषारापात भएको छ । अत्यन्त थोरैले मात्र पल्लवित र पुष्पित हुने अवसर पाउने गरेका छन् । त्यसकारण विसंगति वा कुलतमा फस्नु भन्दा फुर्सदको समयमा घरायसी कार्यमा लागी बालबालिकाहरूलाई समेत सिकाइको सुनौलो अवसर सिर्जना गर्नुपर्दछ । जसले गर्दा जीविकोपार्जनलाई सहज बनाउनुका साथै आयआर्जनमा समेत टेवा पुग्ने देखिन्छ । सैद्धान्तिक ज्ञानको सुगा रटाइ भन्दा बाहिर आई व्यावहारिक ज्ञान, सीप र क्षमतालाई समेत समावेश गरेमात्र सिकाइ उपलब्धिमूलक बन्न सक्छ ।
शैक्षिक संस्थाहरूद्वारा पूर्वनिर्धारित पाठ्यक्रम, योजना तथा नीतिनियममा आधारित भएर शिक्षण संस्थाको घेरा भित्र प्रदान गरिने शिक्षा औपचारिक शिक्षा हो भने औपचारिक घेरा भन्दा बाहिर जीवनोपयोगी व्यावहारिक ज्ञान दिने कुराको शिक्षा अनौपचारिक शिक्षा हो । सचेतनामूलक कार्यक्रम तथा विविध सीपमूलक कार्यक्रमहरू अनौपचारिक शिक्षाका उदाहरण हुन् । “एउटै नम्बरको जुत्ता सबैलाई ठीक हुन्छ” भन्ने खालको परम्परित सिकाइले सिकारुको क्षमता, लगाव, चाहना, स्तरजस्ता कुराहरूलाई वेवास्ता गरी समान प्रकृतिको सिकाइ र मूल्यांकन गर्ने प्रक्रियामा समयअनुरूप परिवर्तन हुँदै गएको पाइन्छ । आहारविहार, पालनपोषण, पारिवारिक, सामाजिक, बौद्धिक, भौतिक तथा सामाजिक वातावरणले हरेक व्यक्तिमा शारीरिक, बौद्धिक तथा व्यक्तित्वमा विविधता ल्याउँछ जसले गर्दा सिकाइ क्षमता पनि समान हुँदैन ।

कोही तीक्ष्ण बुद्धि भएका हुन्छन् भने कोही शारीरिक रूपमा अब्बल हुन्छन् । त्यस्तै कसैलाई संगीतमा बढी रुचि हुन्छ भने कसैलाई खेलकुद वा साहित्य लेखनमा वा अरू कुनैमा । यसरी किताबी आवरणबाट बाहिर आएर सिकारुको रुचि अनुरुप व्यावहारिक ज्ञानको अभिवृद्धि गर्न विद्यालयमा हप्तामा कुनै दिन बिना किताब उपस्थित भएर सीपयुक्त ज्ञान हासिल गर्नु नै “बुक फ्रि डे” को अवधारणा हो । आजको हाम्रो विद्यालयीय शिक्षा नितान्त औपचारिक र कागजी प्रमाणमा मात्र सीमित भएकोले किताबी कोरा ज्ञानभन्दा बाहिर निस्केर सीपमूलक व्यावहारिक सिकाइ आजको आवश्यकता हो । यसै सन्दर्भमा काठमाडौ महानगरपालिकाले यसै शैक्षिक वर्षदेखि लागु हुने गरी नमुनाको रूपमा “बुक फ्रि डे” भनी हरेक शुक्रबार बिना पुस्तक विद्यालय जाने र जीवनोपयोगी सीपहरू सिकाई व्यावहारिक र उत्पादनमुखी बनाउने लक्ष्य राखेको छ । जुन अन्य स्थानीय तहहरूका लागि पनि अनुकरणीय छ ।