फाईल तस्वीर ।

हेटौंडाः कानुनले २० वर्षभन्दा कम उमेरमा विवाहलाई निषेध गरेको छ । तर, व्यवहारमा भने २० वर्षभन्दा कम उमेरमा विवाह गरेर सन्तान जन्माउने क्रम जारी नै छ । हेटौंडा अस्पतालमा मात्रै चैत महिनामा २० वर्षभन्दा कम उमेरका २५ जना गर्भवती आमा भएका छन् । २ सय ७८ गर्भवती मध्ये २५ जना २० वर्षभन्दा कम उमेरमै आमा बनेको अस्पतालका सूचना अधिकारी राजिब झाले जानकारी दिनुभएको छ ।

चैत महिनामा आमा बनेकामा जटिल अवस्थाको ६ जनाको शल्यक्रिया गरिएको थियो । ७८ जनाको सामान्य शल्यक्रिया गरिएको छ । ४९ जनाले गर्भपतन गराएका छन् । हेटौंडा अस्पतालमा यसअघि चालु आर्थिक वर्षको साउनदेखि माघ महिनासम्म ७ महिनाको अवधिमा ३ सय ८९ २० वर्षभन्दा कम उमेरमै आमा बनेका छन् । जिल्ला अस्पतालको चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको विवरण हेर्दा २० वर्षभन्दा कम उमेरमा आमा बन्नेको संख्या अधिक देखिएको छ ।

२० वर्षभन्दा कम उमेरमै आमा बन्नेहरुमध्ये दक्ष प्रसुतिकर्मीबाट ३ सय १८ जनाले प्रसुति सेवा लिएका छन् । दक्ष स्वास्थ्यकर्मीबाट ३६ जना, अन्य स्वास्थ्यकर्मीबाट २१ जना र १४ जना घरमा सुत्केरी भएका छन् । डाक्टरका अनुसार कम उमेरका महिलाहरुले बच्चा नर्मल जन्माउन नसक्ने र शल्यक्रिया गर्नुपर्ने, रक्तश्राव धेरै हुने, समय नपुगी प्रसुति हुने, बच्चा खेर जाने र आमा बच्चा दुबैलाई ज्यानको जोखिमको अवस्था रहुन्छ ।

जिल्लाको दश वटा स्थानीय तहहरुमा ७ महिनाको अवधि (साउनदेखि माघसम्म) मा २० वर्षभन्दा कम उमेरका पहिलोपटक जुनसुकै समयमा गर्भवती जाँच गर्ने महिलाको संख्या ५ सय ६७ जना रहेका छन् । जसमध्ये दोस्रो पटक १२ हप्तासम्म जाँच गर्न आउने गर्भवतीको संंख्या २ सय ८८ जना रहेका छन् । मकवानपुर जिल्लालाई आर्थिक वर्ष २०७४÷०७५ को जिल्ला सभा बैठकले ३ वर्षभित्रमा जिल्लालाई पूर्णरुपमा बालमैत्री स्थानीय तह घोषणा गर्ने भने तापनि मनहरी गाउँपालिका, बकैया गाउँपालिका र मकवानपुरगढी गाउँपालिकामात्रै बालमैत्री स्थानीय तह घोषणा भएको छ भने कैलाश गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका र हेटौंडा उपमहानगरपालिका बालमैत्री घोषणा गर्ने तयारीमा रहेका छन् ।