बेवारिसे व्यक्तिलाई उद्दार गरी गाडीमा राखेर मानवसेवा आश्रमतर्फ लैजाने तयारी गरिँदै ।

हेटौंडाः हेटौंडा–९, लामसुरेधापस्थित मानवसेवा आश्रम र मनहरी गाउँपालिकाको विशेष पहलमा सहयोगापेक्षी एक भारतीय नागरिकसहित ३ जनाको उद्दार गरेको छ । उद्दार गरिएका तीनैजनालाई मानवसेवा आश्रममा राखिएको छ ।

बुधबार दिउँसो ३ बजेको समयमा बेवारिसे अवस्थामा ईलाका प्रहरी कार्यालय मनहरी नजिकैबाट एक भारतीय नागरिकको उद्दार गरिएको छ । नाम–ठेगाना नखुलेको आन्दाजी २२ वर्षीया भारतीय नागरिकलाई फोहोर वस्तुहरु संकलन गरिरहेको अवस्थामा उद्दार गरिएको मानवसेवा आश्रमका अभियान्ता होमनाथ पौडेलले जानकारी दिनुभयो ।

यसैगरी आन्दाजी ५० वर्षीय विष्णु घिमिरेलाई पनि बेवारिसे अवस्थामा फोहोर वस्तु संकलन गरिरहेको अवस्थामा उद्दार गरिएको पौडेलले जानकारी दिनुभयो । नाम–ठेगाना नखुलेको आन्दाजी ४० वर्षीय एक पुरुषलाई मनहरी खोलाको किनारमा हिँडिरहेको अवस्थामा उद्दार गरिएको छ । मानवसेवा आश्रमले देशका प्रमुख सहरहरुमा आश्रम स्थापना गरी सहयोगापेक्षी सडक मानवको उद्दार, संरक्षण र पारिवारिक पुनर्मिलनको कार्य गर्दै आएको छ ।