गुगल तस्विर ।

हेटौंडाः धादिङ जिल्लाको गजुरी गाउँपालिका–२ विहानी पम्पमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार काठमाडौंबाट चितवन जाँदै गरेको प्र. ३–०२–००६ प ५८२६ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको बा. प्र. ०२–०३२ प १६५५ नम्बरको स्कुटी ठोकिदा मोटरसाईकल चालक गोरखा जिल्लाको गोरखा नगरपालिका–९ बस्ने २६ वर्षीय लक्ष्मण बानियाँको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

यस्तै, काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका–१० बसेरीमा ट्याङकीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ वर्षीया मनिता घोरसाईने रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । घोरसाईने आफ्नै घरमा पानी ट्याङकीमा डुबिरहेको अवस्थामा फेला परेकी थिइन् ।

सिन्धुली जिल्लाको दुधौली नगरपालिका–१० कर्थामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो १२ बजेको समयमा सिर्थौलीबाट दुधौलीतर्फ जाँदै गरेको प्रदेश २–०३– ००१ त ६७२८ नम्बरको ट्याक्टरमा अगाडि सवार दुधौली नगरपालिका–५ बस्ने ५५ वर्षीय कालिदास अधिकारी दनुवार ट्याक्टरबाट खस्दा घाईते भएका थिए । घाईते दनुवारलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएकोमा डाक्टरले मृत घोषणा गरेको भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।