हेटौंडा–११, शहीद स्मारकस्थित खोप केन्द्रमा भिटामिन ए र जुकाको औषधी खुवाइँदै ।

हेटौंडाः सरकारले बुधबार र बिहीबार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सञ्चालन गरेको छ । मकनानपुरमा पनि बुधबार भिटामिन ए र जुकाको औषधी खुवाउने कार्य भइरहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य निरिक्षक वासुदेव रिमालले जानकारी दिनुभयो ।

रिमालका अनुसार स्थानीय तहको मागको आधारमा भिटामीन ए र जुकाको औषधि वितरण गरिसकेको छ । स्थानीय तहले प्रत्येक स्वास्थ्य संस्थामा पु¥याएको र स्वास्थ्य संस्थाहरुबाट महिला स्वयंसेविकाहरुसम्म पुगिसकेको छ । नेपाल सरकारको नियमित कार्यक्रम अनुसार वर्षमा २ पटक सञ्चालन यस्ता खालका कार्यक्रम सञ्चालन गर्दै आएको छ । सरकारले ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र अलबेन्डाजोल वितरण गरिन्छ जसमा ६ महिनादेखि १ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए मात्र वितरण गरिने गरेको छ ।

१ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र अलबेन्डाजोल (जुगाको औषधि) वितरण गरिने गरेको रिमालले बतानुभयो । यस कार्यक्रमबाट बालबालिकाको शारीरिकस्तरदेखि आँखा सम्बन्धी रोग रतन्दो र भिटामिन ए को कमिबाट लाग्ने हुने रोग कम गर्न भिटामीन ए खुवाउने गरेको छ । नेपालमा अझै पनि परजीविको संक्रमण हुने गरेकाले यसको विरुद्धमा १ देखि ५ वर्षका बालबालिकालाई अल्बेन्डाजोल खुवाउँदै आएको छ ।

बालबालिकाहरुलाई नजिकैको स्वास्थ्य चौकी तथा उपस्वास्थ्य चौकीहरु मार्फत भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने व्यवस्था मिलाइएको छ । यदि बालबालिकाहरु छुटेमा घरदैलो कार्यक्रम गरी घर–घरमा गएर खुवाइने र महिला स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ‘ए र जुकाको औषधि घर भेटमा पनि खुवाउन सकिने छ । भिटामिन ए र जुकाको औषधी खाने लक्षित बालबालिका मकवानपुरमा ३४ हजार ४ सय ९३ रहेकोमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा ११ हजार ३ सय ३ जना बालबालिका रहेका छन् । कार्यालयले स्थानीय तहहरुमा माग अनुसार ६० हजार औषधी पठाएको र माग भएमा आझै पठाउन सकिने गरी मौज्दात रहेको रिमालले बताउनुभयो ।