जबरजस्ती करणी (बलात्कार)को समस्या जटिल बन्दै गएको छ । महिला तथा बालिकामाथि हुने जबरजस्ती करणीका घटनामा बढोत्तरी भइरहँदा समस्या जटिल बन्दै गएको हो । दैनिक दर्जनौं जबरजस्ती करणीका घटनासम्बन्धी समाचार सार्वजनिक हुने गरेका छन् । देशब्यापीरुपमा जटिल बन्दै गएको जबरजस्ती करणीका घटना मकवानपुर जिल्लामा पनि उल्लेख्य हुने गरेको छ । महिला, किशोरी र बालिकाका साथै वृद्धामाथि समेत जबरजस्ती करणी हुनुले हाम्रो समाजका पुरुषमा मानवीयता कमजोर बन्दै गएको अनभूति हुने गरेको छ । जबरजस्ती करणीमात्र नभई कतिपय यस्ता घटनापछि पीडितको हत्यासम्मका घटना बढ्दै जाँदा पीडकविरुद्ध हदैसम्मको कानुनी कारबाहीको दबाब बढ्दै गएको छ । त्यतिमात्र नभई जबरजस्ती करणीपछि हुने निर्मम हत्याका घटना बढ्दै जाँदा जबरजस्ती करणी गर्नेलाई मृत्युदण्ड (फाँसी) को सजाय दिनुपर्नेसम्मका माग उठ्ने गरेको छ ।

भौतिक संरचना, मानवीय स्वरुपलाई हेर्दा समाज विकसित हुँदै गएको जस्तो देखिए पनि मानवीय व्यवहार हेर्दा सर्वश्रेष्ठ प्राणी भनिने मानिसले नै विवेक गुमाउँदै गएको प्रष्ट हुन्छ । मकवानपुरमा बलात्कारको अभियोगमा एक जना सञ्चारकर्मी पक्राउ परेको दुई दिनपछि अपाङ्गता भएकी महिलालाई जबर्जस्ती गरेको अभियोगमा एक वृद्ध पक्राउ परेका छन् । चैत महिनामा मात्रै मकवानपुरमा ९ वटा जबरजस्ती करणीका घटना भएको प्रहरीको तथ्यांक छ । चालु आर्थिक वर्षको ९ महिना अर्थात् चैत मसान्तसम्म जिल्ला प्रहरी कार्यालय मकवानपुरले ३२ वटा जबरजस्ती करणीका मुद्दा दर्ता गरेको छ । चैत महिनामा दर्ता भएका ९ वटा जबरजस्ती करणीका मुद्दामध्ये ३, ६ र ७ वर्षका बालिका पीडित भएको घटनाले यस्ता घटना गम्भीर र चिन्ताजनक रहेको प्रष्ट हुन्छ । राजनीतिक संरक्षण, पद र पैसाको बलमा जबरजस्ती करणीजस्तो जघन्य अपराधका घटनालाई सामान्य बनाउने परिपाटीले निराशा पैदा गर्ने गरेको छ ।

जबरजस्ती करणीका घटना वृद्धि हुनु चिन्ताको विषय भएको अधिकारकर्मीहरुको भनाई छ । जबरजस्ती करणीका घटना वृद्धि हुँदै जाँदा पीडितको संरक्षण र दोषीलाई कारबाहीको दायरामा ल्याउन कठिन भएको बुझाई छ । मुद्दाको प्रक्रिया अगाडि बढ्दै जाँदा पीडक पक्षबाट पीडित पक्ष प्रभावित भई दोषी उम्कने र पीडित थप पीडित हुने जोखिम बढ्ने अवस्था कायम रहँदा यस्ता जघन्य अपराध सामान्य बन्ने गरेको छ । मानवीय मूल्य, मान्यता र सभ्यतालाई नै प्रतिकूल बनाउने जबरजस्ती करणीका घटना बढ्नुलाई कुनै आधारमा स्वभाविक मान्न सकिँदैन । जबरजस्ती करणीका घटनामा आधाभन्दा बढी बालिका पीडित हुने गरेको तथ्यांक छ । बालिकाहरु सजिलै प्रलोभनमा फस्ने भएका कारण उनीहरु बढी पीडित भएको हुनसक्छ ।

जबरजस्ती करणीका घटना बढ्दै जानुमा सामाजिक सञ्जालको बढ्दो दुरुपयोग, माया प्रेममा हुने धोका, यौनकुण्ठा, मदिरा तथा लागूपदार्थ सेवन, शिक्षा तथा चेतनाको कमी, बेरोजगारीजस्ता कारण प्रमुख देखिने गरेको छ । अमानवीय र मानवजातिका लागि लज्जास्पद कुकर्म मानिएको जबरजस्ती करणी गर्ने जोसुकै भए पनि कानुनबमोजिम कडा कारबाही हुनैपर्छ । जघन्यमात्र नभई अक्षम्य अपराधको मानेर जबरजस्ती करणीका पीडकलाई सजाय दिलाउन सकेमा यस्ता घटना केही कम हुनसक्छ । पीडकलाई विभिन्न बहानामा दण्ड, सजायबाट उन्मुक्ति दिइँदा यस्ता घटनाको पुनरावृत्ति भइरहेको अनुमान गर्न गाह्रो छैन । जबरजस्ती करणी भइसकेपछि पीडकलाई कडा सजाय दिनुपर्छ भन्ने दवावसँगै जबरजस्ती करणीका घटना न्यूनीकरणका उपाय अवलम्बनमा चिन्ता र चासो आवश्यक छ । जटिल बन्दै गएको जबरजस्ती करणीप्रति महिला र बालबालिका विशेष सचेत बन्नुका साथै यसका कारणहरु पहिचान गरी उचित समाधानका उपाय अवलम्बन गर्नु आवश्यक छ ।