हेटौंडाः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मकवानपुरकी विन्दावासिनी कंशाकारलाई समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य सिफारिस गर्ने निर्णय गरेको छ । यसअघि समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचित ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको रास्वपाले श्रेष्ठको निष्कासनपछि रिक्त हुने प्रतिनिधिसभा सदस्यमा कंशाकारको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
दुर्गा प्रसाईँसँग २ करोड रुपैयाँ मागेको श्रव्य सामग्री सार्वजनिक भएसँगै निलम्बनमा परेका श्रेष्ठलाई बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले साधारण सदस्य समेत नरहने गरी कारवाही गर्ने निर्णय गरेको छ । पार्टी सभापति रवि लामिछानेका अनुसार अनुशासन तथा आचरण समितिको सिफारिस एवं विधान विपरित काम गरेको भन्दै श्रेष्ठलाई कारबाही गरेको जानकारी दिनुभएको छ । प्रतिनिधिसभा सदस्य सिफारिस गरिएकी कंशाकार रास्वपा केन्द्रीय सदस्य हुनुहुन्छ । कंशाकार १० वर्षअघि एसिड आक्रमण पीडित समेत हुनुहुन्छ ।