उपाधि विजेता ११ नम्बर वडाको पुरुष टिम ।

पदमपोखरीः पाँचौं संस्करणको उपमेयर कप भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको उपाधि हेटौंडा उपमहानगरपालिका १९ नम्बर वडा र पुरुषतर्फ ११ नम्बर वडाले जितेको छ । बुधबार हेटौंडा–१२, पदमपोखरीस्थित बुद्ध माविको भलिबल कोर्टमा भएको फाइनल खेलमा ९ नम्बर वडालाई ३–२ को सेटमा पराजित गर्दै १९ नम्बर वडाले महिलातर्फको उपाधि जितेको हो । यस्तै पुरुषतर्फको फाइनल खेलमा ११ नम्बर वडाले १९ नम्बर वडालाई ३–२ को सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको हो ।

महिलातर्फको फाइनल खेलमा पहिलो सेट २०–२५ ले आफ्नो पक्षमा पारेर सुखद् सुरुवात गरेको ९ नम्बर वडाले दोस्रो सेट २५–२१ ले १९ नम्बरलाई सुम्पियो । तेस्रो सेटमा १६–२५ उत्कृष्ट नतीजा निकालेको ९ नम्बर चौथो सेटमा २५–२२ ले पछि पर्यो । अन्तिम तथा पाँचौ सेट पनि निक्कै प्रतिस्पर्धात्मक बन्यो । अन्तिम सेट १५–१३ ले आफ्नो पक्षमा पार्दै १९ नम्बर वडाले उपाधि उचालेको छ ।

उपाधि विजेता १९ नम्बर वडाको महिला टिम ।

यस्तै पुरुषतर्फको फाइनल खेलमा सुरुवाती दुई सेट आफ्नो पक्षमा पारेको ११ नम्बर वडाले तेस्रो र चौथो सेटमा हार व्यहोरेपछि उपाधिको छिनोफानो गर्न पाँचौ सेट पनि खेल्नु पर्ने अवस्था रह्यो । पहिलो र दोस्रो सेट क्रमशः १९–२५ र २१–२५ ले गुमाएको १९ नम्बर वडाले २५–१८ र २५–२१ ले आफ्नो पक्षमा पार्दै उपाधिको दावी कायमै राखेको थियो । अन्तिम सेट १५–११ ले आफ्नो पक्षमा पार्दै ११ नम्बर वडाले उपाधि जितेको हो ।

महिला र पुरुष दुवैतर्फ उपाधि विजेता टिमले ५० हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता टिमले ३० हजार रुपैयाँमा चित्त बुझाएको छ । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजना, मकवानपुर जिल्ला भलिबल संघ र हेटौंडा उपमहानगर भलिबल संघको सहआयोजना तथा हेटौंडा उपमहानगरपालिकाको प्रायोजनमा उपमेयर कप भलिबल प्रतियोगिता भएको हो । प्रतियोगितामा पुरुषतर्फ १० वटा टि र महिलातर्फ ९ वटा टिमको सहभागिता रहेको थियो ।