हेटौंडाः वागमती प्रदेश सभा सदस्य एवम् सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी अध्यक्ष भारती पाठकले सामुदायिक वन बिभिन्न बहानामा धनाढ्यको कब्जामा गैरहेको बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासंघ हेटौंडाको दास्रो अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पाठकले संघीय सरकारले व्यक्तिलाई विभिन्न परियोजनाको नाममा ३० वर्षका लागि सामुदायिक वनको भोगचलन गर्न दिने नीति समुदायले जोगाएर राखेको वन विनास गर्ने कारकतत्व हुने बताउनुभयो ।
सरकारले विपन्न समुदायलाई भने १० वर्षका लागि भोगचलन गर्न दिने निर्णयले १० वर्षसम्म वन जोगाउन विपन्न समुदाय प्रयोग गरेर धनाढ्यलाई सुम्पने किसिमको प्रावधान ल्याएकोप्रति सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलित भैरहेको बताउनुभयो । समुदायलाई सम्पन्न र समृद्ध बनाउन सामुदायिक वन उपभोक्ता समुह केन्द्रित भएर स्रोतहरु आउनुपर्ने उहाँको भनाइ छ । समुदायलाई नै माथि उठाउन उनिहरुले नै वन जोगाएको कारण प्राप्त रकमहरु उनिहरुसम्म पुर्याउनुपर्ने राज्यको दायित्व रहेको उहाँले जनाउनुभयो । जलवायु परिवर्तनको असर कम गर्नका लागि दिनरात खटिने समुदायको हितमा काम गर्न सरकार र सरोकारवालालाई उहाँले आग्रह गर्नुभयो ।
प्रदेश सभा सदस्य पाठकले सामुदायिक वनबाट नेतृत्व विकास गर्नुभएका ३ हजार जनाले स्थानीय सरकार र ३० जनाले संघ र प्रदेशमा निर्वाचन जित्नुले पनि समुहमा रहेका महिला, आदिबासी जनजातिको क्षमता विकासमा समेत महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । सामुदायिक वन उपभोक्ता महासंघ हेटौंडाको अध्यक्ष शम्भुप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ वागमती प्रदेश कोषाध्यक्ष निर्मला न्यौपाने, मकवानपुर अध्यक्ष साधुराम चौलागाई लगायतले बोल्नुभएको थियो ।