हटियाः हेटौंडा उपमहानगरपालिका–१७, हटियास्थित बालबोध माविमा कक्षा ९ र १० का ५० जना छात्रालाई साइकल उपहार दिइएको छ । विद्यालयको ६६ औं अभिभावक दिवसको अवसरमा बुधबार विद्यार्थीलाई साइकल वितरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल बहादुर विष्ट, प्रधानाध्यापक रमेश रिजाल, सहायक प्रधानाध्यापक दीपकलाल श्रेष्ठसहित शिक्षक, स्थानीय संस्था र व्यक्तिको सहयोगमा ५ लाख ३१ हजार रुपैयाँ बजेटबाट ५० वटा साइकल खरिद गरी विद्यार्थीलाई वितरण गरिएको हो ।
अभिभावक भेलाका प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य एवम् निवर्तमान श्रम, रोजगार तथा यातायात मन्त्री एका लाल श्रेष्ठले विद्यार्थीलाई साइकल वितरण गर्नुभयो । साइकल वितरणका लागि स्थानीय अंगारेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट २ लाख रुपैयाँ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल बहादुर विष्टबाट १ लाख रुपैयाँ, प्रधानाध्यापक रमेश रिजालबाट ५१ हजार रुपैयाँ, सहायक प्रधानाध्यापक दीपकलाल श्रेष्ठबाट १० हजार रुपैयाँ, समाजसेवी शम्भु भण्डारी, हेटौंडा–४ का व्यवसायी हरि रिमाल र हेटौंडा–१८ का पोल्ट्री व्यवसायी राजकुमार खत्रीबाट जनही ५० हजार रुपैयाँ, विद्यालयका शिक्षक सिमा हुमागाई र भरतप्रसाद तिमल्सिनाबाट जनही १० हजार रुपैयाँ सहयोग प्राप्त भएको विद्यालयले जनाएको छ ।
छात्रालाई विद्यालयमा समयमै आइपुग्न, बिहान, साँझको अतिरिक्त कक्षामा पनि पूरा समय सहभागी हुनका लागि सहयोग पुर्याउने उद्देश्यले साइकल वितरण गरिएको प्रधानाध्यापक रिजालले जानकारी दिनुभएको छ । छात्राहरु घरको काम पनि भ्याएर हिँडेर विद्यालय आउजाउ गर्ने क्रममा समयमै विद्यालय आउने र घर पुग्ने अवस्था नहुँदा नियमित पठनपाठन र अतिरिक्त कक्षाहरुमा नियमित उपस्थित हुन समस्या देखिएपछि विद्यालयले सहयोग संकलन गरी छात्राहरुलाई साइकल वितरण गरिएको प्रधानाध्यापक रिजाल बताउनुहुन्छ । मकवानपुर जिल्लामा विद्यार्थीलाई यत्ति ठूलो संख्यामा साइकल वितरण गरिएको पहिलो पटक हो ।