हेटौंडाः हेटौंडा–७ स्थित किरणचोक टोल विकास संस्थाले हेटौंडा–७ स्थित नवज्योति मावि र हेटौंडा–८ स्थित चन्द्रोदय माविमा अक्षयकोष स्थापना गरेको छ । गत फागुनमा आयोजना गरिएको श्रीमद् भागवत ज्ञान महायज्ञबाट संकलित रकमबाट दुईवटै विद्यालयमा १ लाख १ हजार रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरिएको टोल विकास संस्थाका अध्यक्ष राजु अधिकारीले जानकारी दिनुभएको छ ।

मंगलबार किरणचोक टोल विकास संस्था र किरणचोक आमा समूहको संयुक्त आयोजनामा भएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष अधिकारीले अक्षयकोष स्थापना गरिएको जानकारी दिनुहुँदै विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । कार्यक्रममा अध्यक्ष अधिकारीले टोल विकास संस्थाको प्रगति विवरण प्रस्तुत गर्नुभयो । गत फागुन महिनामा आयोजना गरिएको सप्ताहबाट १४ लाख ८२ हजार रुपैयाँ रकम उठेको जानकारी दिनुहुँदै संकलित रकममध्ये १० लाख ५६ हजार खर्च भएको जानकारी दिनुभयो ।

महायज्ञको आयोजना गरेर बचत भएको रकमबाट टोल विकास संस्थाले समुदायले प्रयोग गर्ने गरी भोजका लागि आवश्यक भाँडाकुँडा खरिद गरेको किरणचोक आमा समूहकी अध्यक्ष सावित्री अधिकारीले जानकारी दिनुभएको छ । टोल विकास संस्थाले २०८० सालको क्यालेन्डर पनि प्रकाशन गरेको छ । यस्तै आगामी साउन १ गतेदेखि टोलको फोहोर निःशुल्करुपमा संकलन गरिने बताइएको छ । टोल विकास संस्थामा आवद्ध भएका असल बचतकर्ता र ऋणी गरी एक÷एक जनालाई सम्मानस्वरुप निशूल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । किरणचोक टोल विकास संस्थामा १ सय २० घरधुरी रहेको छ ।

टोल विकास संस्थाका अध्यक्ष राजु अधिकारीको सभाध्यक्षता तथा हेटौंडा–७ का वडाअध्यक्ष दामोदर गौतमको प्रमुुख आतिथ्यमा कार्यक्रम भएको हो । वडाअध्यक्ष गौतमले टोल विकासले धेरै राम्रा कामहरु गरिरहेको अवस्थामा अझ संस्थालाई जिम्मेवार बनाउन आग्रह गर्नुभयो । यस्तै उहाँले टोल विकास संस्थालाई आवश्यक सहयोग गरिने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा हेटौंडा–८ का वडाअध्यक्ष रामकृष्ण थापा, सदस्य गोरख राई, टोल विकास संस्था नगर समन्वय समितिका नगर अध्यक्ष ध्रुव अधिकारी, हेटौंडा उपमहानगरपालिकाको वातावरण शाखाका प्रमुख भैरव कुमाल लगायतको आतिथ्य रहेको थियो ।