मन्त्रीपरिषद्को निर्णयबारे जानकारी दिनुहुँदै प्रवक्ता श्रेष्ठ । फाइल तस्वीर ।

हेटौंडाः बागमती प्रदेश सरकारको मन्त्री परिषद्ले प्रदेश उच्च शिक्षा नियमावली स्वीकृत गरेको छ । मंगलबार बसेको बैठकले प्रदेश उच्च शिक्षा नियमावली २०७९, स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभएको छ ।

नियमावली स्वीकृत गरेसँगै प्रदेश सरकारले विश्विद्यालय खोल्ने प्रक्रिया अगाडि बढाउन बाटो खुलेको छ । प्रदेश सभाबाट ऐन पारित भएर नियमावली पनि स्वीकृत भए पश्चात उच्च शिक्षाका लागि प्रदेश सरकारले विश्वविद्यालय खोल्न पाउने उहाँको भनाइ रहेको छ । यस्तै, बैठकबाट प्रदेश चिठ्ठा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भई प्रदेश सभामा पेश गर्ने निर्णय भएको छ । संघमा चिठ्ठा सम्बन्धी नियमावली भएको तर प्रदेश सरकारमा यस विधेयक नभएकाले प्रदेशमा चिठ्ठा सम्बन्धी ऐन निर्माणका लागि प्रदेश सभामा पठाउने निर्णय भएको मन्त्री श्रेष्ठले बताउनुभयो ।

यस्तै, बैठकले प्रदेश सञ्चार माध्यम व्यवस्थापन (चौथो संशोधन) नियमावली २०७९, स्वीकृत गरेको छ । प्रदेश सरकारमा सञ्चार माध्यम दर्ता गर्न प्रक्रिया नपुग्ने झन्झटिलो हुने भएकाले उक्त समस्या प्रदेश सरकारबाटै समाधान गर्न नियमावली स्वीकृत भएको मन्त्री श्रेष्ठले बताउनुभयो ।