वक्तृत्वकला प्रतियोगितामा प्रथम हुनुभएकी आशिका पुडासैनीलाई पुरस्कृत गरिँदै ।

हेटौडाः २४ औं वनस्पति दिवसको अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत वन विज्ञान क्याम्पसकी विद्यार्थी आशिका पुडासैनी प्रथम हुनुभएको छ । प्रतियोगितामा जिल्लामा रहेका क्याम्पसहरुमा विज्ञान संकायमा स्नातक तहमा अध्ययनरत विद्यार्थीको सहभागिता रहेको थियो ।

वनस्पति अनुसन्धान केन्द्र हेटौंडामा आयोजित वक्तृत्वकला प्रतियोगितामा कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत वन क्याम्पसका दीपक राज जोशी द्वितीय तथा त्रिभुवन विश्वविद्यालयअन्तर्गत वन क्याम्पसका कृष्ण प्रसाद देवकोटा तृतीय हुनुभएको छ । वनस्पति दिवसको नारा “जलवायु परिवर्तन एक चुनौति, समाधानका लागि वनस्पति” विषयक वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने सहभागीलाई पुरस्कार स्वरुप करुवा प्रदान गरिएको छ ।

वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका प्रमुख रघुराम पराजुलीको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यमा वक्तृत्वकला प्रतियोगिता भएको हो । वक्तृत्वकला प्रतियोगितामा ७ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा बागमती प्रदेश सरकारअन्तर्गतको वन निर्देशनालयका निर्देशक डा. विद्यानाथ झा, डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख शिव सापकोटा, डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख विष्णुप्रसाद आचार्यको पनि आतिथ्य रहेको थियो ।

वनस्पति अनुसन्धान केन्द्र मकवानपुरले वनस्पति दिवसको अवसरमा तीन दिवसीय कार्यक्रमको आयोजना गरेको छ । दिवसकै अवसरमा केन्द्रले वृन्दावन वनस्पति उद्यानमा उपलब्ध वनस्पतिको शब्दचित्रसहितको क्याटालग प्रकाशन गरेको छ । वनस्पति दिवस हरेक वर्ष चैत २९ गते मनाइन्छ ।