रक्तदान गर्दै रक्तदाताहरु । फाइल तस्वीर ।

हेटौंडाः नेपाल रेडक्रस सोसाइटी इन्द्रसरोवर उपशाखाको आयोजनामा मंगलबार रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ४० जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभएको छ ।

इन्द्रसरोवर गाउँपालिका–४, फाखेलस्थित कलिका माविमा रक्तदान कार्यक्रम भएको हो । रक्तसञ्चार केन्द्रमा मागअनुसार वितरण गर्नका लागि रगत पर्याप्त रहेको प्राविधिक सापकोटाले जानकारी दिनुभएको छ । चैत महिनाको तेस्रो सातादेखि नियमित रक्तदान कार्यक्रम भइरहेको छ । चैत महिनाको पहिलो दुई साता रक्तदान कार्यक्रम नहुँदा रगतको अभाव भएको थियो ।