हेटौंडाः चितवन जिल्लाको भरतपुर महानगरपालिकाको शिक्षा महाशाखाका अधिकारी र महानगर क्षेत्रका विद्यालयका शिक्षकहरुको एउटा समूहले हेटौंडा–१६, हटियास्थित जनप्रिय माध्यमिक विद्यालयको गणित प्रयोगशालाको अवलोकन भ्रमण गरेका छन् । मंगलबार भरतपुर महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख महेन्द्र पौड्यालको नेतृत्वमा विद्यालयको गणित प्रयोगशाला अवलोकन गरेको हो ।
अवलोकन टोलीमा भरतपुर महानगर क्षेत्रमा रहेका माध्यमिक तहको ५१ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक, गणित शिक्षक, विषयगत उपसमितिका पदाधिकारीसहित १ सय ५१ जना सहभागी थिए । भरतपुर महानगरभित्र रहेका सामुदायिक विद्यालयहरुमा नमुना गणित प्रयोगशाला बनाउने तयारी गरिरहेको र प्रयोगशाला बनाउन आवश्यक अध्ययनका लागि प्रयोगशालाको अवलोकन गरिएको हो । भरतपुर महानगरपालिकाले मावि तहका सबै विद्यालयमा गणित प्रयोगशाला निर्माण गर्न २ लाख रुपैयाँका दरले बजेट उपलब्ध गराएको छ ।
अवलोकनका लागि आएका समूहसँग विद्यालयमा गणित प्रयोगशाला निर्माण तथा व्यवस्थापनबारे अन्तरक्रियासमेत भएको प्रधानाध्यापक चौलागाईँले बताउनुभयो । अवलोकनका लागि आएका पाहुना टोलीलाई जनप्रिय माविको बागवानी, पशुपालन, निर्माणाधीन संरचनाहरु, मिडिया कक्षा देखाइएको प्रधानाध्यापक चौलागाईले बताउनुभयो । अवलोकन भ्रमणपश्चात भरतपुर महानगरपालिकामा गणित प्रयोगशाला निर्माणको तयारीमा लाग्ने बताएको छ ।
गणित विषयका शिक्षक भुपेन्द्र चौलागाईले २०७५ सालमा हेटौंडा–१८, हर्नामाडीस्थित ज्योति माविमा रहनुहुँदा जिल्लाकै पहिलो गणित प्रयोगशाला निर्माण गर्नुभएको थियो । जनप्रिय माविमा स्थापना गरिएको गणित प्रयोगशाला जिल्लाकै दोस्रो प्रयोगशाला हो । अहिले प्रयोगशालालाई अझ विस्तार गरेर ठूलो बनाइएको प्रधानाध्यापक चौलागाईले जानकारी दिनुभएको छ । पहिलो पटक गणित प्रयोगशाला निर्माण गरेर चर्चामा आउनुभएका चौलागाई शिक्षा दिवसको अवसरमा राष्ट्रिय पुरस्कार समेत प्राप्त गर्नुभयो । जनप्रिय माविमा गणित प्रयोगशालासँगै सामाजिक र अंग्रेजी विषयको पनि प्रयोगशाला स्थापना गरिएको छ ।