हेटौंडाः मंगलबार चितवनमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने काभ्रे जिल्लामा एकजना मृत फेला परेको छ ।
चितवन जिल्लाको रत्ननगर नगरपालिका–१, बकुलरचोकमा सवारी दुर्घटना हुँदा ७५ वर्षीय कुल प्रसाद पराजुलीको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । मंगलबार बिहान १० बजे भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा ४ ख ८९१६ नम्बरको बसले साईकललाई ठक्कर दिँदा पराजुली गम्भीर घाइते भएका थिए । घाइते पराजुलीलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा बिहान १० बजेर ५० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बस र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै काभ्रे जिल्लाको बनेपा नगरपालिका–८, चाँदनीचोकमा एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीया कान्छी मानन्धर रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । मंगलबार बेलुका ७ बजेर १५ मिनेटको समयमा अचेत अवस्थामा भेटिएकी मानन्धरलाई उपचारका लागि शिर मेमोरियल अस्पताल बनेपा लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।