आज सोमबार ६६ औं राष्ट्रिय सहकारी दिवस देशव्यापीरुपमा मनाइँदैछ । नेपालमा सहकारी अभियान सुरु भएको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । ‘सहकारीको दिगोपनः स्वनियमन र सुशासन’ भन्ने मुल नाराका साथ ६६ औं सहकारी दिवस मनाइँदैछ । विसं २०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा बखानपुर ऋण सहकारी समिति स्थापना भएको दिनलाई स्मरण गर्दै सहकारी दिवस मनाउने गरिएको हो । सहकारीका समसामयिक मुद्दाहरुलाई समेत उजागर गरी ६६ औं सहकारी दिवस भव्यरुपमा मनाउन राष्ट्रिय सहकारी महासंघले आग्रह गरेको छ । देशैभरी साताव्यापी विविध कार्यक्रम गरी सहकारी दिवस मनाउन लागिएको महासंघले जनाएको छ । हेटौंडामा पनि सहकारी दिवसको अवसरमा शनिबार रक्तदान कार्यक्रम आयोजना गरिएको थियो भने आज सोमबार विहान ¥यालीसहित अन्य कार्यक्रम हुनेछ ।
नेपालमा सहकारीको सुरुवात भएको ७ दशक पुग्न लागेको छ । पञ्चायती शासनकालसम्म सहकारीको विकास निकै मन्द गतिमा भयो । २०४६ सालको राजनीतिक परिवर्तनपश्चात् सहकारीको विकास पनि निकै तीब्र गतिमा भएको छ । सरकारले २०४८ सालमा सहकारी ऐन र २०४९ सालमा सहकारी नियमावली ल्याएपछि सहकारी स्थापनाको क्रमले निकै तीब्रता पायो । सरकारले २०४८ साल भदौमा राष्ट्रिय सहकारी विकास बोर्ड गठन ग¥यो । पछिल्लो समय सरकारले निजी, सरकारी र सहकारी तीन पक्षलाई आर्थिक विकासको मेरुदण्ड मानेर तीनखम्बे आर्थिक नीतिलाई महत्व दिएपछि सहकारीको महत्व झनै बढेको छ । अहिले देशभर २५ हजारको हाराहारीमा विभिन्न प्रकारका र उद्देश्यका सहकारी संस्था स्थापना भएका छन् । सहकारी संस्थाहरुमा धेरै सर्वसाधारण नेपाली आवद्ध छन् भने अरबौं रुपियाँ सर्वसाधारणको शेयर पुँजी लगाइएको छ । सहकारीमा सर्वसाधारणको खरबौं रुपैयाँ निक्षेपसमेत रहेको छ ।
विश्वव्यापी आर्थिक मन्दीको प्रभावले विगत लामो समयदेखि नेपालमा पनि उद्योग व्यवसायहरुको कारोबारमा संकुचन आएको छ । बैंक, वित्तीय संस्था तथा सहकारी क्षेत्रमा तरलताको अभाव, चर्को मूल्यवृद्धिलगायतका कारणले व्यवसायी तथा आम सर्वसाधारण पीडित बनिरहेका छन् । यसबाट सहकारी संस्थाप्रतिको विश्वासमा समेत कमी हुँदै गएको छ । सहकारीबाट आम नेपालीले धेरै फाइदा लिइरहेको भए पनि कतिपय सहकारीका सञ्चालक तथा कर्मचारीले बद्मासी गरिदिएको कारण सर्वसाधारणको लगानी डुबेको छ भने कतिपयको लगानी संकटमा परेको छ । ‘सबैका लागि एक, एकका लागि सबै’ भन्ने अवधारणाबाट विकास भएको सहकारी पछिल्लो समय न्यून आय भएकाका लागि निकै सहयोगी बन्दै गइरहेको छ । विशेषतः ग्रामीण क्षेत्रको गरिबी न्यूनीकरणमा सहकारीले योगदान दिँदै आएको छ । समुदायका स–साना बचतहरुलाई स्थानीय तहमा नै जम्मा गरी आवश्यक परेका बखत सरल प्रक्रियाबाट ऋण दिने कार्यले न्यून आयस्तर भएका व्यक्ति र समुदाय प्रत्यक्ष लाभान्वित भई जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका निर्वाह भएको छ ।
वर्तमान आर्थिक मन्दीको असर तथा कतिपय सहकारीको कार्यशैली पारदर्शी र प्रभावकारी नहुँदा सहकारीका सदस्यहरु पीडित बन्नु परिरहेको छ । सहकारीको संख्यात्मक वृद्धिसँगै विभिन्न विकृतिहरु पनि बढ्दै गएका छन् । सहकारीमा सदस्यको शेयर लगानी र बचतको सुरक्षाका लागि सहकारीका सञ्चालकहरु थप जिम्मेवार र प्रतिबद्ध बन्नु आवश्यक छ । केही बचत तथा ऋण सहकारीहरुले आम सर्वसाधारणलाई सदस्य बनाएर उनीहरुको बचत जम्मा गरी सञ्चालकहरुले जथाभावी आफू अनुकूल प्रयोग गर्दा समस्या आइरहेका छन् । आजको सहकारी दिवसले वर्तमान संकटको समयमा विचलित नभई सदस्यको हक, हितका लागि सहकारीको व्यवस्थापन जिम्मेवार र प्रतिबद्ध रहेको सन्देश प्रवाहित गर्न सक्नुपर्छ । वर्तमान संकटबाट सहकारीलाई जोगाउन सरकारी नियमनकारी निकायले सहकारीहरुको नियमनसँगै सहुलियत र प्रोत्साहनका कार्यक्रम ल्याउनु आवश्यक छ ।