सिमरा गोल्डकपमा मकवानपुर–११ का खेलाडीहरु ।

हेटौंडाः जितपुर–सिमरा गोल्डकपमा मकवानपुर–११ पराजित भएको छ । मकवानपुर–११ लाई ३–० गोलअन्तरले स्तब्ध पार्दै हिमालयन शेर्पा क्लब सिमरामा जारी जगदम्बा १३ औं जीतपुर–सिमरा गोल्डकपको उपाधि होडमा प्रवेश गरेको छ । बुधबार सिमरा रङ्गशालामा सम्पन्न पहिलो सेमिफाइनलमा मकवानपुरविरुद्ध आक्रामक खेल खेल्दै एक दशकपछि हिमालयन शेर्पा फाइनल प्रवेश गर्यो ।

२०६७ मा सम्पन्न प्रतियोगिताको दोश्रो संस्करणको उपाधि जितेको २०६९ को चौथो सिमरा गोल्डकपमा उप–विजेता बनेको थियो । सिमरा रङ्गशालामा निरन्तर सहभागिता जनाउँदै आएको शेर्पाले दशकपछि तेश्रो पटक फाइनलयात्रा तय गरेको हो । हिमालयन शेर्पाले खेलको २९ औं मिनेटमा सुशील राईको गोलबाट अग्रता लिएको थियो । हिमालयन शेर्पाको जितमा म्यान अफ दि म्याच निशान लिम्बु नायक बने । खेलको ७४ औं मिनेटमा कप्तान विश्वास श्रेष्ठको ठाउँमा मैदान प्रवेश गरेका निशानले आकर्षक दुई गोल गरे ।

खेलको ८७औं मिनेटमा मिलन राईको पासलाई गोलमा परिणत गर्दै निशान लिम्बुले हिमालयन शेर्पाको अग्रता दोब्बर बनाए । खेलको अन्तिम समयमा निशान लिम्बुको व्यक्तिगत दोश्रो गोलबाट हिमालयन शेर्पाले ३–० को जित सुनिश्चित गर्दै फाइनलयात्रा तय ग¥यो । इन्ज्युरी समयको चौथो मिनेटमा हिमालयन शेर्पाका मिलन राईको पासमा निशानले अर्को गोल थपे । डिबक्स भित्रडिफेण्डरको गल्तीका कारण मकवानपुरले अन्तिम मिनेटमा तेश्रो गोल बेहोर्नुपर्यो ।

प्रतियोगिताअन्तर्गत आज बिहीबार साविक विजेता न्युरोड टिम एनआरटी र चर्च ब्वाईज यूनाईटेड बीच दोश्रो सेमिफाइनल खेल हुनेछ । शनिबार हुने फाइनल खेलको प्रमूखअतिथिका रुपमा उप–राष्ट्रपति रामसहाय प्रसाद यादव उपस्थित हुने तय भएको आयोजक कमिटीका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिनुभएको छ ।