हेटौंडाः तीन एकदिवसीय मैत्रीपूर्ण क्रिकेट श्रृंखलाअन्तर्गत अन्तिम खेलमा चितवनले खराब प्रदर्शन गरेको छ । टस जितेर पहिले व्याटिङ थालेको चितवनले ३५ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय ६७ रन मात्रै जोडेको छ । ओपनर व्याट्सम्यानले ५८ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरे पनि मध्यक्रमपछिका व्याट्सम्यान टिक्न नसक्दा चितवन सस्तैमा समेटिएको छ ।
चितवनका लागि ओपनर सूर्यांशु कोइरालाले ३९ रन जोडे भने जेनिथ क्षेत्रीले २४, सनम बुढाथोकीले २१ र साकार ढकालले २० रन जोडे । चितवनलाई सस्तैमा समेट्ने क्रममा मकवानपुरका बलर रिजन ढकाल र शुभ कंशाकारले ३/३ विकेट लिएका छन् । १ सय ६८ रनको लक्ष्यसहित केहीबेरमा मकवानपुरले जवाफी व्याटिङ गर्नेछ । हेटौंडाको हुप्रचौरमा सोमबारदेखि सुरु भएको तीन एकदिवसीय मैत्रीपूर्ण श्रृंखलामा चितवनले पहिलो दुई खेल जितिसकेको छ ।