हेटौंडा आस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको उद्घाटन गर्नुहुँदै स्वास्थ्य सचिव बद्री बहादुर खड्का ।

हेटौंडाः बामगती प्रदेश सरकार मातहतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा आस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम पुनः सञ्चालनमा आएको छ । बुधबार बिहान बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव बद्री बहादुर खड्काले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको उद्घाटन गर्नुभयो ।

साताको २ दिन बुधबार र बिहीबार मुख्यमन्त्री स्वास्थ्य कार्यक्रमका सेवा प्रदान गरिने अस्पतालले जनाएको छ । कार्यक्रममा हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन डा. रामचन्द्र सापकोटाले २०७६ सालबाट सुरु भएको कार्यक्रम कोभिड–१९ महामारीका कारण केही समय रोकिएर अहिले पुनः सञ्चालनमा आएको बताउनुभयो । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रममा नसर्ने रोगहरु क्यान्सर, सुगर, प्रेसर जस्ता ७ प्रकारका स्वास्थ्य समस्याको उपचार गरिने जानकारी गराउनुभयो ।

प्रतिष्ठानका शिक्षाध्यक्ष सुरेन्द्र शेरचनले विश्वमा नसर्ने रोगको बिरामी उल्लेख्य रुपमा बढेको र नेपालमा रहेका बिरामीमा ८० प्रतिशत बिरामी नसर्ने रोगको रहेको बताउनुभयो । नसर्ने रोगका कारण कारण धेरै मानिसले ज्यान गुमाउनुपरेकाले उपचारमा ल्याउन यस्तो कार्यक्रम ल्याएको बताउनुभयो ।

जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम ल्याइएको स्वास्थ्य मन्त्रालयका सचिव बद्री बहादुर खड्काले जानकारी दिनुभयो । नेपालमा हाल ६६ प्रतिशत मानिस नसर्ने रोगले ग्रसित भएको जानकारी दिनुहुँदै सचिव खड्काले अहिले सरकारले २ हजार २ सय रुपैयाँ बराबरको प्याकेजमा बिरामीको स्वास्थ्य परीक्षण गर्ने र आगामी दिनमा यस्ता सेवा विस्तार एवम् सुधार गर्दै लैजाने बताउनुभयो ।