हेटौंडाः मकवानपुर जिल्लामा झुण्डिएर आत्महत्या गर्ने मानिसको संख्या उच्च रहेको छ । चालु आर्थिक वर्षको ८ महिनाको तथ्यांकअनुसार झुण्डिएर आत्महत्या गर्नेको संख्या बढी पाइएको हो ।
मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म ७० जनाले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांक छ । झुण्डिएर आत्महत्या गर्नेमा पुरुष ४६ जना, महिला १७ जना, बालक ३ जना र बालिका ४ जना रहेका छन् । चालु आर्थिक वर्षको ८ महिनामा आत्महत्या गर्ने ९९ जनामध्ये ७० जनाले झुण्डिएर आत्महत्या गरेको पाइएको छ । आत्महत्या गर्नेमध्ये झण्डै ७१ प्रतिशतले झुण्डिएर आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाएको छ ।
झुण्डिएर आत्महत्या गर्नेमा पुरुषको संख्या उच्च रहेको छ । महिलाको तुलनामा झण्डै तीन गुणा बढी पुरुषले आत्महत्या गरेको तथ्यांक छ । घरको जिम्मेवारीका कारण आर्थिक समस्याका कारण धेरै पुरुषले आत्महत्या गरेको हुनसक्ने बताइएको छ । बालबालिका पनि उल्लेख्य संख्यामा आत्महत्याको शिकार भएको पाइएको छ । बालबालिकाले नबुझेर, घरपरिवारमा आफूले भनेको कुरा नपाएर, विभिन्न खालका घटनाले आत्महत्या गरेको हुनसक्ने बताइएको छ । चालु आर्थिक वर्षको फागुनसम्म विष सेवन गरेर आत्महत्या गर्नेको संख्या २७ जना रहेको छ । जसमा पुरुष १३, महिला १२, बालक १ र बालिका १ रहेका छन् । विष सेवन गरेर आत्महत्या गर्नेमा महिला र पुरुषको संख्या बराबरजस्तै रहेको छ । आफ्नै शरीरमा आगो लागाएर १ जना महिलाले आत्महत्या गरेकी छिन् । हाम फालेर १ जना पुरुषले आत्महत्या गरेका छन् । ८ महिनाको अवधिमा ९९ जनाले आत्महत्या गरेका छन् । जसमा पुरुष ६० जना, महिला ३० जना, बालक ४ जना र बालिका ५ जना रहेका छन् ।











