संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ । कक्षा १२ सम्मको शैक्षिक व्यवस्थापन तथा अन्य अधिकार पालिकामा आएको छ । स्थानीय तहले पाएको अधिकारबमोजिम शिक्षामा सुधार ल्याउन केही प्रयत्नहरु पनि भइरहेका छन् । स्थानीय तहहरुले शिक्षा क्षेत्रको विकासका लागि गरेका केही महत्वपूर्ण कार्यहरुमध्ये स्थानीय पाठ्यक्रम÷पाठ्यपुस्तक निर्माण र प्रयोग पनि हो । प्रत्येक स्थानीय तहको बारेमा त्यहाँका विद्यार्थीलाई जानकारी बनाउन स्थानीय पाठ्यक्रम निकै उपयोगी हुने गरेको छ । परिवर्तित पाठ्यक्रम प्रारुपमा कक्षा ८ अर्थात् आधारभूत तहसम्म गाउँ÷नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्न पाउने अधिकार दिइएको छ । कतिपय पालिकाहरुले विभिन्न संघसंस्थाको आर्थिक, प्राविधिक सहयोग एवम् पालिकाकै स्रोत साधनबाट स्थानीय पाठ्यक्रम तयार पारेर प्रयोगमा ल्याइसकेका छन् । स्तरीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्न सकेमा यस्ता स्थानीय पाठ्यक्रमले विद्यार्थीलाई सिकाई प्रक्रियामा रुचि जागृत गरी सिकाई उपलब्धी प्रभावकारी बनाउन टेवा पुग्ने देखिन्छ ।

मकवानपुर जिल्लाका पालिकाहरुले पनि धमाधम स्थानीय पाठ्यक्रम तयार गरी लागू गरिरहेको छ । जिल्लाको १० वटा पालिकामध्ये हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका, भीमफेदी गाउँपालिका, बागमती गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याइरहेका छन् । जिल्लाको कैलाश र बकैया गाउँपालिकाले भने स्थानीय पाठ्यक्रम निर्माण तथा कार्यान्वयनमा ल्याउन सकेको छैन । राक्सिराङ गाउँपालिका मकवानपुरमै पहिलोपटक स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक कार्यान्वयनमा ल्याउने पालिका हो । एक वर्षअघि नै पालिकामा कक्षा १ देखि ५ सम्मको स्थानीय पाठ्यपुस्तक कार्यान्वयनमा ल्याइएकोमा चालु शैक्षिक सत्रबाट कक्षा ६ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याइनेछ । राक्सिराङले पाठ्यक्रमका साथै स्थानीय विषयको पाठ्यपुस्तसमेत छपाई गरी वितरण गरेको छ ।

जिल्लाको भीमफेदी गाउँपालिकामा गत वर्षदेखि स्थानीय पाठ्यक्रम लागू गरिएको छ । कक्षा—१ देखि ५ सम्मका लागि स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको उक्त पालिकाले ६ देखि ८ कक्षासम्मका लागि भने तत्काल पाठ्यक्रम तयार नगर्ने भएको छ । यस्तै, मकवानपुरगढी गाउँपालिकामा २ वर्षअघि नै स्थानीय पाठ्यक्रम निर्माण भएर कार्यान्वनयमा आइरहेको छ । मकवानपुरगढीले कक्षा १ देखि कक्षा ८ सम्मको लागि स्थानीय विषयको पाठ्यक्रम निर्माण गरी प्रयोगमा ल्याएको छ । हेटौंडा उपमहानगरपालिकामा पनि स्थानीय पाठ्यक्रम कार्यान्वयनमा आइसकेको छ । चालु शैक्षिक सत्रबाट कक्षा १ देखि ३ सम्मका लागि स्थानीय पाठ्यक्रम तयार गरी पठनपाठन गर्न विद्यालयलाई आग्रह गरिएको भए पनि केही विद्यालयले यो पाठ्यक्रम कार्यान्वयन गरेका छैनन् । उपमहानगरपालिकाले क्रमशः कक्षा ४ देखि ८ सम्मका लागि पाठ्यक्रम निर्माणको तयारी गरिरहेको छ । जिल्लाका इन्द्रसरोवर तथा बागमती गाउँपालिका र थाहा नगरपालिकाले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याइसकेका छन् ।

स्थानीय विषय भने गाउँ÷नगरपालिकाभित्रका विषयवस्तु हुन् । आफ्नो पालिकाको विविध क्षेत्रको विशेषतालाई स्थानीय पाठ्यक्रममा समावेश गरिनुपर्दछ । स्थानीय विषयवस्तु, रहनसहन, कृषि, उद्योग, जल, जमिन, जंगल, वातावरण, हावापानी, धार्मिक÷ऐतिहासिक÷सांस्कृतिक सम्पदा, पर्यटकीय स्थल आदि विषयलाई समावेश गरेर स्थानीय पाठ्यक्रम तयार पारिन्छ । यस्तो पाठ्यक्रमले विद्यार्थीलाई व्यवहारिक र उपयोगी ज्ञान दिन सकिन्छ । पठनपाठनमा विद्यार्थीको रुचि बढाउन पनि स्थानीय पाठ्यक्रम थप प्रभावकारी बन्न सक्छ । स्थानीय तहको आवश्यकताअनुसार स्थानीय विषयको पाठ्यक्रम तथा पाठ्यपुस्तकको प्रभावकारी कार्यान्वयनमा स्थानीय तहले थप चासो र चिन्ता लिनुपर्ने छ ।