हेटौंडा अस्पतालको तस्विर ।

हेटौंडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमातहतको हेटौंडा अस्पतालमा फागुन महिनामा तीन वटा जटिल शल्यक्रिया भएको छ । हेटौंडा अस्पतालमा पित्तथैलीको आन्द्रामा रहेको पत्थरी, ठूलो आन्द्रामा क्यान्सर र ठूलो आन्द्रामा मासु पलाएका विरामीको शल्यक्रिया गरी उपचार गरिएको हेटौंडा अस्पतालका चिकित्सकले जानकारी दिएको छ ।

नियमित शल्यक्रिया सेवाकै क्रममा जटिल किसिमको शल्यक्रिया गरी उपचार गरिएको हेटौंडा अस्पतालका सर्जन डा. सरोज प्रधानले जानकारी दिनुभयो । पित्तथैलीको आन्द्राको पत्थरीको शल्यक्रिया गराउने सेवाग्राही ३८ वर्षीया महिला रहनुभएको छ भने ठूलो आन्द्राको क्यान्सरको समस्या ३५ बर्षीय पुरुषको हो । यस्तै ६० वर्षीय पुरुषको ठूलो आन्द्रामा मासु पलाएको उपचार गरिएको छ ।


हेटौंडा अस्पतालको सेवा प्रवाहमा पछिल्लो समय सुधार हुँदै आएको छ । हेटौंडा अस्पतालमा साताको दुईदिन सर्जरी सेवा प्रदान गर्ने गरेको छ । हेटौंडा अस्पतालमै सिटी स्क्यान सेवा सुचारु एसँगै जटिल किसिमका शल्यक्रिया गर्न पनि सहयोग पुगेको डा. प्रधान बताउनुहुन्छ । डा. सरोज प्रधानसँगै डा. निश्चल खनाल, डा. निराजन श्रेष्ठ र डा. प्रकाश साहको टोलीले फागुन महिनामा ३ वटा जटिल शल्यक्रिया गरेको हो ।