हेटौंडाः हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी सुरु गरेको छ । मकवानपुर क्याम्पसले फागुन ५ गते सहायक क्याम्पस प्रमुख यमबहादुर सिलवालको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समितिमा उपप्राध्यापक घनश्याम घिमिरे, उमेश अर्याल, दिनेश बिडारी र गौतम केसी रहनुभएको छ ।
निर्वाचन समितिका संयोजक सिलवालका अनुसार मंगलबार जिल्लास्तरीय विद्यार्थी नेताहरुसँग समितिले निर्वाचनको विषयमा छलफल गरेको छ । अब क्याम्पस समितिका विद्यार्थी नेताहरुसँग छलफल गरेर निर्वाचन आचारसंहिता र आगामी प्रक्रियाबारे जानकारी गराउने संयोजक सिलवालले स्पष्ट पार्नुभएको छ ।
त्रिभुवन विश्वविद्यालयले यही फागुन १९ गते संगठन दर्ता गरेर निर्वाचनको प्रक्रिया सुरु गरी चैत ५ गतेका लागि मतदानको मिति तय गरेको छ । स्ववियु निर्वाचनमा २८ वर्षभन्दा बढी उमेरका व्यक्ति उम्मेदवार हुन नपाउने व्यवस्था गरेको छ । मकवानपुर क्याम्पसमा प्रमुख राजनीतिक दलसम्वद्ध विद्यार्थी संगठनहरु क्रियाशील छन् । मकवानपुर क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियु, नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादी निटक अनेरास्ववियुलगायतका विद्यार्थी संगठन क्रियाशील छन् ।