हेटौंडाः बालमैत्री पालिका घोषणाको तयारीमा रहेको हेटौंडा उपमहानगरपालिकाले नगरका विभिन्न वडाहरुका तथ्याङक संकलकका लागि अनुशिक्षण थालेको छ । २०८० सालसम्म बालमैत्री पालिका घोषणाको तयारीमा रहेको उपमहानगरले नियुक्त गरेको १९ वडाका ३० जना तथ्याङक संकलकहरुलाई अनुशिक्षण गरेको हो ।
अनुशिक्षणका क्रममा संकलकहरुलाई नगरका विभिन्न वडामा रहेका घरहरुमा रहेको बालबालिका सहितको तथ्याङक संकलनका तरिकाहरु सिकाइने उपमहानगरका महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले बताउनुभएको छ । उपमहानगरले तीन महिना अवधिका लागि नियुक्त गरेको तथ्याङक संकलक टोलीलाई अनुशिक्षणसँगै वडाहरुमा खटाइएको छ । अनुशिक्षणमा हेटौंडा उपमहानगरकी प्रमुख मिनाकुमारी लामाले नगरले लिएको लक्ष्यलाई पूरा गर्ने जिम्मेवारी पाएकोमा बधाई दिँदै दृढताका साथ काम गर्न निर्देशन दिनुभयो । उहाँले अनुशासित र मर्यादित भएर काममा लाग्दै नगरको विकासमा सहयोग पु¥याउन जोड दिनुभयो ।
तथ्याङ संकलकमा जागिर खुवाउन सहयोग गर्ने भन्दै मानिस आउँछन् त्यसो होइन आफ्नो क्षमताका आधारमा उपमहानगरले काममा राखेको बुझ्न आग्रह गर्दै परनिर्भर होइन आत्मनिर्भर भएर काममा लाग्नु पर्ने उहाँको भनाइ थियो । उहाँले काममा योग्य भएर आएका सबैलाई क्षमता देखाएर काम गर्न जोड दिनुभयो । अनुशिक्षणमा तथ्याङक संकलनका लागि आवश्यक सफ्टवयर निर्माणमा सहयोग गरेको यस्थर बेञ्जामिनका सानु घलानले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम हेटौंडा उपमहानगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख बिष्णुकुमारी लामिछानेको अध्यक्षतामा भएको थियो ।
नगर प्रमुख लामाले उपमहानगरपालिकाले १९ वटा वडाका लागि नियुक्त गरेको वडा सहजकर्तासँग भेटघाट गर्दै नगरको उद्देश्य र लक्ष्यलाई सम्झेर काममा लाग्न निर्देशन दिनुभयो । उपमहानगरले बालमैत्री नगर घोषणाका लागि १ नगर सहजकर्ता, १९ वडा सहजकर्ता र ३० जना तथ्याङक संकलक गरी ५० जनालाई नियुक्त गरेको छ ।