समाजसेवी सिद्धिलाल श्रेष्ठलाई सम्मान गर्नुहुँदै बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठ ।

हेटौंडाः हेटौंडा—४ स्थित रेडियो थाहा सञ्चारको १५औं वार्षिकोत्सवको अवसरमा समाजसेवी सिद्धिलाल श्रेष्ठलाई सम्मान गरेको छ । आइतबार बिहान रेडियो परिसरमा आयोजित कार्यक्रममा बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले सिद्धिलाल श्रेष्ठलाई सम्मान गर्नुभयो ।

सम्मानपछि समाजसेवी सिद्धिलाल श्रेष्ठले समाजसेवामा पनि प्रतिस्पर्धा हुनुपर्ने बताउनुभयो । हरेक व्यक्तिले आफ्नो नियमित दैनिकीसँगै सामाजिक योगदानमा पनि ध्यान दिनुपर्ने श्रेष्ठको भनाइ थियो । आफ्नो सामाजिक सेवाको कर्मलाई सञ्चार माध्यमले प्रस्तुत गरिदिएकै कारण निरन्तर सामाजिक सेवाको क्षेत्रमा सक्रिय रहन प्रेरणा मिलेको पनि श्रेष्ठले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले प्रदेश सरकारमा रहेर आफूले प्रदेशको राजधानी हेटौंडालाई सुविधा सम्पन्न बनाउने योजना तयार पारेको जानकारी गराउनु भयो । सुशासन र विकासको आधार तयार पार्न पनि प्रदेश सरकार जिम्मेवार रहेको उहाँको भनाइ थियो । हेटौंडाबाट प्रदेशका सबै जिल्लासम्म जोडिने यातायात सेवा स्थापित गर्ने प्रयास भइरहेको उहाँले जानकारी दिनुभएको छ ।