सर्वसम्मत अध्यक्ष र सचिव चयन गरेपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौंडाः नेपाल शिक्षक संघ राक्सिराङ गाउँपालिका समितिको अध्यक्षमा बाबुलाल घलान तथा सचिवमा रत्नबहादुर मुक्तान सर्वसम्मत चयन हुनुभएको छ । शनिबार संघको गाउँपालिका समितिको बैठकले घलान र मुक्तानलाई सर्वसम्मत अध्यक्ष र सचिव चयन गरेको हो । यसअघि गत पुस १६ गते भएको गाउँ अधिवेशनले अध्यक्ष र सचिव चयन गर्न सकेको थिएन ।

शनिबार राक्सिराङ गाउँपालिकाको मुकाम चैनपुरमा जिल्ला समितिका प्रतिनिधिको समेत उपस्थितिमा बसेको गाउँपालिका समितिको बैठकले अध्यक्ष र सचिवको टुंगो लगाएको हो । अध्यक्ष घलान राक्सिराङ गाउँपालिका–८, महाङ्कालस्थित जनज्योति प्राविका प्रधानाध्यापक हुनुहुन्छ भने सचिव मुक्तान राक्सिराङ–४, पञ्जनीस्थित राष्ट्रिय प्राविका प्रधानाध्यापक हुनुहुन्छ ।

यस्तै शनिबारको बैठकले ९ वटै वडाबाट एक एक जना सदस्य तथा ३ जना महिला शिक्षक सदस्यलाई मनोनित गरेको नेपाल शिक्षक संघ मकवानपुरका सहसचिव राजु रेग्मीले जानकारी दिनुभएको छ । पुस १६ गतेको अधिवेशनले गाउँपालिका समितिको अन्य पदाधिकारी र सदस्यहरु चयन गरेको थियो ।