हेटौंडाः बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बिहीबार प्रदेशसभामा सम्बोधन गर्नुभएको छ । प्रदेशसभालाई सम्बोधन गर्दै उहाँले राष्ट्रमा देखिएको आर्थिक संकट सामना गर्न प्रदेश सरकारले औद्योगिकरणमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।
प्रदेश सरकारले उत्पादनलाई जनजिविकाको सुत्रमा जोडेर औद्योगिकरण प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाई छ । प्रदेशमा हाइट्रोजन प्लान्ट स्थापना गरी उर्जाको क्षेत्रमा बृहत परिवर्तन ल्याउने सम्भावना यो प्रदेशले बोकेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वन क्षेत्रको संरक्षण र सम्बद्र्धन गरी हेटौंडाको सम्भावित क्षेत्रमा मरिज, अलैची, केरा, आँप, लिची, भूइकटहर, एबोकाडो खेति गर्नुपर्छ । हाम्रो खानपानमा सुधार गरी विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । हामीले यस क्षेत्रमा काम गर्दा बालि विज्ञ र माटो विज्ञसँग घनिभूत छलफल गरी कुन स्थानमा के–के लगाएर उत्पादन बढाउन सकिन्छ भनेर छलफल गर्न आवश्यक रहन्छ ।”
परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिक व्यवसायिक कृषि प्राणालीमा रुपान्तरण गरी कृषि क्षेत्रमा योजना तर्जुंमा गर्न बिलम्ब गर्नु नुहने उहाँको भनाई छ । उहाँले थप्नुभयो, “किसानहरुले उत्पादन गरेको फसलहरुको बजार सुनिश्चित गर्नुपर्छ । उन्नत किसिमका मल बीउ र प्रविधि उपलब्ध गराउने किसानमैत्री नीति निर्माण आवश्यक छ । विक्रि नभएर सडकमा उत्पादन फाल्नु पर्ने कहालिलाग्दो घटनाबाट मुक्त भई किसानले उत्पादन गरेको उत्पादनको बजार सरकारले व्यवस्थापन गरिदिनुपर्छ ।”
प्रदेश सरकारले बजेट विनियोजना गर्दा ठूला–ठूला जलविद्युत आयोजना, नमूना कृषि फर्म, प्राविधिक शिक्षालय र उद्योगहरुको स्थापनामा लक्षीत गर्न सक्यौं भने मात्र रोजगारीका अवसरहरु सिर्जना हुने उहाँले स्पष्ट पार्नुभयो । यसले हाम्रो उत्पादन निर्यातमा वृद्धि हुने र संकट सामाना गर्न मद्दत पुग्ने धारणा राख्नुभयो । उहाँका अनुसार प्रदेश सरकारले कृषि उत्पादन बढाउन सिंचाई सुविधाको लागि हदसम्म प्रयास गर्नुपर्छ । उहाँले भन्नुभयो, “प्रदेश सरकारप्रति जनताको आशा र भरोसालाई कमी आउन दिनु हुँदैन । जनमुखी सरकारको अवधारणा अनुरुप प्रदेश सरकार सँधै सचेत र क्रियाशिल हुनु आवश्यक छ ।”
राज्यको महत्वपूर्ण पदमा पुगेका व्यक्तिको प्रयासबाट देशले काचुली फेरेको उदाहरण स्मरण गर्दै उहाँले इमान्दारिताका साथ का मगर्न अनुरोध गर्नुभयो । हाम्रो अगाडी चुनौतिका पहाडहरुसँगै सम्भावनाका फराकिला क्षितिजहरु पनि रहेको भन्दै अग्रगमनका नयाँ जोश र आँट, जाँगरका साथ अगाडी बढ्नु पर्ने बेला भएको स्पष्ट पार्नुभयो । जीवन गाथाका अन्तिम पानाहरु पल्टाउनु भन्दा अगाडी राष्ट्र र नेपाली जनताकोे लागि के गर्न सकिन्छ ? भनेर मनन चिन्तन गर्न जरुरी रहेको धारणा राख्नुभयो । प्रदेश सरकारको कार्यकाल पूर्ण रुपमा सफलताको शुभकामना दिनुभएको छ ।