उम्मेदवारी घोषणा गर्नुहुँदै श्यामसुन्दर ढकाल (बीचमा) ।

हेटौंडाः निर्माण व्यवसायी संघ मकवानपुरको अध्यक्षमा श्याम सुन्दर ढकालले उम्मेदवारीको घोषणा गर्नुभएको छ । ढकालले दोस्रो कार्यकालका लागि उम्मेदवारी घोषणा गर्नुभएको हो । बुधबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरेर उम्मेदवारी घोषणा गर्नुभएको हो ।

माघ २८ र २९ गते दुईदिन हुने साधारणसभा तथा अधिवेशनमा दोस्रो कार्यकालका लागि आफ्नो उम्मेदवारीबारे ढकालले स्पष्ट पार्ने प्रयास गर्नुभयो । ४ वर्ष कार्यसमिति सदस्य, ५ वर्ष कोषाध्यक्ष, ४ वर्ष महासचिव हुँदै ३ वर्षदेखि अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएका ढकाल पछिल्लो समय निर्माण व्यवसायीका लागि अनुकुल वातावरण बन्दै गएको बताउनुहुन्छ । नयाँ दररेट निर्धारण हुनु, व्यवसायीले ५ वटा मात्रै ठेक्का सम्झौता गर्न पाउने व्यवस्थाले व्यवसायीलाई निर्माणको कार्य गर्न अनुकुल भएको दावी ढकालको छ ।

आसन्न साधारणसभामा २ पक्षीय प्यानलनै प्रतिस्पर्धामा हुने सम्भावना रहेको र आफ्नो समूह त्यसका लागि पनि तयार रहेको उहाँले बताउनुभयो । आसन्न साधारणसभाबाट अध्यक्ष, तीन जना उपाध्यक्ष, महासचिव, २ जना उपमहासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षसहित १८ सदस्यीय नयाँ समिति चयन गर्नेछ । निर्वाचित समितिले ४ जना सदस्य मनोनित गर्नेछ । मकवानपुर जिल्लामा पाँच सय ५० को हाराहारीमा निर्माण व्यवसायी भए पनि चार सय ४५ जना व्यवसायी संघमा आवद्ध छन् ।