खेल सुरु हुनुअघि टस गरिँदै ।

हेटौंडाः मधेश प्रदेशको सप्तरीमा जारी चौथो मिथिला कप टि–२० क्रिकेटमा मकवानपुर क्रिकेट टिम सेमीफाइनलमा पराजित भएको छ । बुधबार भएको सेमीफाइनल खेलमा मकवानपुर क्रिकेट टिम कलैया क्रिकेट क्लबसँग २ विकेटले पराजित भएको मकवानपुर क्रिकेट टिमका क्याप्टेन सुमन सुनारले जानकारी दिनुभयो ।

टस हारेर मकवानपुरले पहिलो व्याटिङ गरेको थियो । मकवानपुरले १९ ओभर २ बलमा अल आउट हुँदै एक सय २४ रन बनाए । मकवानपुरका लागि राम नरेश गिरीले ५३ रन र गौरव खड्काले १४ रन बनाए । तर अन्य व्याट्स म्यान भने खासै चल्न सकेन । त्यस्तै जवाफी व्याटिङमा उत्रेको कलैयाले १८ ओभर ४ बलमा ८ विकेट घुमाउँदै एक सय २५ रनको लक्ष्य पूरा गरेको हो ।

कलैयाको जितका लागि व्याटिङतर्फ अरनिको यादवले अविजित ४८ रन र साहिल पटेलले ३० रन बनायो भने बलिङतर्फ भुल्वान सहनीले ४ विकेट र जितेन्द्र यादवले २ विकेट लिएको हो । अब कलैयाले फाइनलमा बिहीबार बजाज युथ एकेडेमी सप्तरीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा उपाधि विजेता टिमले नगद १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । लिग–कम–नकआउटको आधारमा जारी प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको थियो ।