गुगल तस्विर ।

हेटौंडाः बागमती प्रदेशमा सोमबार विभिन्न घटनामा परी ४ जनाको मृत्यु भएको छ । बागमती प्रदेशको रसुवा, धादिङ, दोलखा र काभ्रे जिल्लामा एक एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

धादिङ जिल्लाको थाक्रे गाउँपालिका–६, महादेववेशीमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बागमती प्रदेश २–०२५ प ५१११ स्कुटर साईड लगाई पार्किङ् गरी राखेको बा ४ ख २६५४ टिप्परको पछाडी ठक्कर ठोक्किँदा स्कुटर दुर्घटना भएको थियो । दुर्घटनामा परी स्कुटर चालक धादिङ जिल्ला थाक्रे गाँउपालिका–११, सुन्दरटोलका १५ वर्षका संगम लामा घाईते भएका थिए । लामाको उपचारको क्रममा धार्केस्थित शाही बाबा अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । स्कुटर र टिप्पर चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै दोलखा जिल्लाको बिगु गाउँपालिका–४, लादुकमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । लादुकबाट ढुंगा लिन जाने क्रममा ना ५ त ८८७८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खस्दा ट्याक्टर चालकसहित ३ जना घाइते भएका थिए । घाइतेलाई उपचारका लागि चरिकोट अस्पतालमा पु¥याइएकोमा एकजनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ । मृत्यु हुनेमा बिगु गाँउपालिका–४ बस्ने २४ वर्षीय किसन सार्कीको उपचारको क्रममा ३ बजेर २० मिनेटको समयमा मृत्यु भएको प्रहरीले बताएको छ । ट्याक्टर नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जानकारी दिएको छ ।

रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–५, स्याफ्रुमा अन्दाजी ६० वर्षीय दावा सोनाम घलेको तातोपानी पोखरीमा डुबेर मृत्यु भएको छ । घले पोखरीमा डुवी मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएपछि प्रहरी घटनास्थल पुगेको थियो । काभ्रे जिल्लाको पनौती नगरपालिका–५ का १८ महिने शिशुको दुईतला माथिबाट खसेर मृत्यु भएको छ । दुई तल्लामाथि छतको रेलिङमा चढी खेल्ने क्रममा तल खस्दा गम्भीर घाइते भएका शिशुलाई उपचारार्थ न्युरो अस्पताल माईतीघर लगिएको थियो । शिशुको उपचारको क्रममा सोमबार दिउँसो साढे ३ बजे मृत घोषित गरेको प्रहरीले जनाएको छ ।